आइतबार, वैशाख १४, २०८२

वाल्ट डिज्नीको सपना र महेन्द्रको डिज्नील्यान्ड भ्रमण

सुनील उलक २०७८ असार १९ गते ९:३१

विश्वभर बच्चाहरुको प्यारो हुँदै आएको कतिपय कार्टुन फिल्मका निर्माता कम्पनी वाल्ट डिज्नी प्रोडक्सनले सन् २०१४ मा एउटा फिल्म बनाएको थियो (As dreamers do) स्वप्नदर्शीको रुपमा । यस फिल्ममा वाल्ट डिज्नी प्रोडक्सनका स्वप्नदर्शी वाल्ट डिज्नीको जीवनी देखाइएको थियो ।

सपना देख्नेहरु सबैका पूरा हुँदैनन् तर वाल्टको सपना भने पूरा भएको थियो । उनको यो सपना साकार गर्न एक महिलाको ठूलो भूमिका थियो । सन् १९०१ मा जन्मेका वाल्टर डिज्नीको जीवनको महत्त्वपूर्ण महिला नै आन्टी मार्गरेथ वाल्टर थिइन् । वाल्टरको बुबाको नजिकको भाइ रवर्ट डिज्नीको श्रीमती थिइन् मार्गरेथ । सधैं घरका भित्तामा चित्र कोरिरहने वाल्टरलाई पहिलोपटक आन्टी मार्गरेथले कापी र रङ्गीचङ्गी कलमहरु उपहारमा ल्याइदिए । यही कागजमा विभिन्न चित्रहरु कोर्थे र म्यागी आन्टीलाई दिने गर्दथे । आन्टी सधैं उनलाई चित्र कोरिरहन प्रेरित गरिरहन्थे । सबैलाई सधैं हँसाइरहने आन्टी मार्गरेथले वाल्टरको जीवनलाई पनि अति खुसी बनाइदिएको थियो ।

यसरी विभिन्न चित्र कागजमा कोरिरहने वाल्टरले एक दिन आफ्नो छिमेकी डाक्टर शेरवुडको घोडा रुपर्टको तस्बिर कोर्दा अंकल शेरवुड अति नै खुसी भएर चित्रलाई आफ्नो घरको भित्तामा सजाउने भन्दै सो चित्रको मूल्य तिरे । उनको कलाको पनि मूल्य पाउँदा उनि अति नै खुसी भए । उनको जीवनको त्यो पहिलो कमाइ थियो । उनले थाहा पाए- उसले कोर्ने चित्र पनि बिक्दो रहेछ । यही नै उनको जीवनको पहिलो सफलता थियो । यसरी उनलाई आफ्नो सपना साकार हुने आशा जागेको थियो ।

धेरै वर्षपछि फ्रान्सको यात्राबाट फर्केपछि वाल्टरले कलाकारिताको जागिर पाए । एउटा विज्ञापन कम्पनीमा चित्र कोरेबापत उनलाई मासिक ५० डलर दिइने भयो । यति खुसी भए कि उनले यो खुसीको समाचार सबैभन्दा पहिले उनको आन्टी मार्गरेथलाई सुनाउन आतुर भए । हतार-हतार आन्टी भेट्न पुगे, उनी चिच्याउदै आन्टीको कोठातर्फ दौडिए, ‘आन्टी तिनीहरुले मलाई चित्र कोरेबापत पैसा दिने भनेको छ, आन्टी तिनीहरुले मलाई चित्र कोरेबापत पैसा दिने भनेको छ ।’ तर कोठामा सन्नाता छाएको थियो । कोठाको खाटमा आन्टी सुतिरहेकी थिइन् । निकै कमजोर र बिरामी आन्टीले उसको कुनै पनि आवाज सुन्न सक्दिनथिइन् । बन्द आँखाबीच पनि सायद आन्टीले आफ्नो भतिजाको आवाज थाहा पाए । बिस्तारै हातले इसारा गरेर नजिक बोलाएजस्तो लाग्यो वाल्टरलाई । नजिक गएर एकैछिन बसे । उनको सपनाको एक प्रेरणा जसलाई खुसीको समाचार सुनाउन आतुर हुँदा सुनिदिने कान र खुसीले अट्टहास गर्ने आन्टी अशक्त थिइन् । यसको केही दिनपछि आन्टीको निमोनियाँका कारण मृत्यु भयो ।

सपनाको यात्रामा लागिरहेका वाल्टरले २८ वर्षको उमेरमा मिकी माउसको सिर्जना गरेका थिए । मिकी माउस पनि नोभेम्बर १२, २०२८ मा १०० वर्ष पुग्दै छ । यसरी आफ्नो सपनाको यात्रा लाग्दै अन्तत: उनको ठूलो सपना डिज्नील्यान्ड बनाए । वि.सं. २०१२ को साउन २ (१९५५ जुलाई १७) मा डिज्नील्यान्डको उद्घाटन भव्य रुपमा गरेका थिए । उनको एउटा सपना पूरा भए पछि अमेरिका भ्रमणमा आउने हरेक राजा राष्ट्रपति वा उच्च पदस्थ अधिकारीहरुलाई वाल्ट डिज्नी आफैं सहभागी भएर आफ्नो डिज्नील्यान्ड घुमाउँथे । सबै विशिष्टहरुलाई घुमाउने वाल्टरले भने कुनै विशिष्ट पाहुनालाई घुमाउन अस्वीकार पनि गरेका थिए । सोभियत संघका राष्ट्रपति निकिता ख्रुश्चेभको १९ सेप्टेम्बर १९५९ मा भएको अमेरिका भ्रमणको समय ख्रुश्चेभ आफैंले डिज्नील्यान्ड घुम्ने चाहना राखेका थिए तर उनले चाहना राख्दा राख्दै पनि वाल्ट डिज्नीले घुम्ने अनुमति नै दिएनन् । यसबाट ख्रुश्चेभ निकै क्रद्ध भएका थिए ।

यस घटनाको ९ महिनापछि नेपालका राजा महेन्द्र लामो छुट्टी मनाउन अमेरिका पुगेका थिए । मेक्सिको र क्यानाडासहित उत्तर अमेरिकाको करिब २०१७ वैशाख १३ गतेदेखि जेठ १९ सम्म करिब ३८ दिनको भ्रमणमा थिए । यसबीच जेठ ३ देखि ५ सम्म मेक्सिको तथा जेठ १२ देखि १५ सम्म क्यानाडा भ्रमणमा थिए । बाँकी समय अमेरिकाकै विभिन्न राज्यको भ्रमणमा रहेका थिए । नेपालमा प्रजातान्त्रिक सरकारको गठन भएको हुँदा विश्व राजनीतिको अध्ययनका लागि राजा महेन्द्र निकै फुर्सदिला थिए ।

May be an image of 4 people, people sitting, people standing and outdoors

अमेरिका भ्रमणका अवसरमा राजा महेन्द्रलाई पनि वाल्ट डिज्नीले आफ्नो डिज्नील्यान्ड घुम्न निम्तो दिएका थिए । राजा महेन्द्र रानी रत्नको साथ डिज्नील्यान्ड पुग्दा वाल्ट तथा लिलियन डिज्नीले राजा महेन्द्रलाई सम्पूर्ण डिज्नील्यान्डको अवलोकन गराएका थिए । त्यसै अवसरमा अवसरमा खिचिएको यो तस्बिरमा राजा, रानी, वाल्टर तथा लिलियन देख्न सकिन्छ ।

वाल्टरको सपना त्यही रोकिएन । सपनाले विशाल स्वरुप लिँदै गयो । आज विश्वका प्रमुख ६ सहरमा डिज्नील्यान्डले बच्चाबूढा सबैलाई मनोरञ्जन दिइरहेको छ । साथै वाल्ट डिज्नी कम्पनीले सयौं फिल्म पनि बनाइसकेको छ । केवल २२ वर्षको उमेरमा वाल्टरले आफ्ना दाजु रोयसँग मिलेर स्थापना गरेको डिज्नी ब्रडर्स कार्टुन स्टुडियो आज विशाल वाल्ट डिज्नी कम्पनी भइसकेको छ । सन् १९६६ मा वाल्टरको देहावसान भएको थियो ।

प्रतिक्रिया