जवाफी कविता

क्याबात कोमल
बाँदरहरुको देश र भेष हुँदैन
देश र भेष त
जनताका सपनालाई निर्ममतापूर्वक चिलिरहने
नरभक्षी अरिंगालहरुको पो हुन्छ ।
स्याबास कोमल
बाँदरहरुको देश र भेष हुँदैन
देश र भेष त
सारा जनता सुतिरहेको बेला
लुसुक्क शीतल निवास छिरेर
संविधान धुजाधुजा पारेर काट्ने
तिखा दाँत भएका
मुसाहरुको पो हुन्छ ।
हो त नि कोमल
बाँदरहरुको देश र भेष हुँदैन
देश र भेष त
विदेशीले फालेको हाड चुस्दा चुस्दा
आफ्नै दाँतबाट निस्किएको
रगतको स्वादमा रमाइरहेका
मध्यरातमा भुकीभुकी
जनताको निँद हराम गरिरहेका
अनि
मानिसहरुलाई जथाभावी टोक्दै हिँडिरहेका
बहुला कुकुरहरुको पो हुन्छ ।
मलमलकीरी जुनकीरी
बाँदरहरुको देश र भेष हुँदैन
देश र भेष त
‘यति यति पानी, हाम्री रानी’ भन्दै नाचिरहेका
मर्ने बेलामा सहर पसी वितण्डा मच्चाइरहेका
छट्टु स्यालहरुको पो हुन्छ ।
बजरंगबलीका अवतार
मानवका पुर्खा
पशुपतिदेखि स्वयम्भूसम्म
भक्तजनले दिएका केरा कोसेलीमा रमाउने
बाँदरहरुको कहाँ देश र भेष हुन्छ र ?
देश र भेष त
दूध चोर्ने कालो बिरालोबाट
‘इभ्यालुसन’ भई
एकाएक भीमकाय बनेको
चपाउने र देखाउने दाँत अलग अलग भएको
छाडा, दम्भी अनि उपद्रया
उही चिर परिचित
उन्मत्त ध्रुवे हात्तीको पो हुन्छ ।
-कुसुम विन्दास, काठमाडौं
प्रतिक्रिया