सोमबार, असार २३, २०८२

अधुरा आयोजनाहरुलाई पूरा गराउन सुशासन समितिद्वारा सरकारको ध्यानाकर्षण

नेपालखोज २०७८ असार २९ गते १८:४०

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले अधुरा रहेका आयोजनाहरुलाई पूरा गराउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समितिको बैठकले सुरु गरेर अधुरा रहेका आयोजनाहरु के कारणले अधुरा भएका हुन् भन्ने स्थलगत अनुगमनबाट कारण पत्ता लगाई कार्यान्वयनका लागि सरकालाई ध्यानाकर्षण गराएको हो ।

त्यस्तै समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न पन्ध्रौँ पन्चवर्षीय योजना तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसारको कार्यान्वयनको खाकासहित मन्त्रालयहरुको अनुगमन गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ । समितिले दिगो विकास लक्ष्य हासिल गर्नका लागि दिगो विकास लक्ष्यको स्थानीयकरण गर्न जरुरी रहेको भन्दै योजना आयोग र सरकारले नीति कार्यक्रम बनाई स्थानीय तह र प्रदेशस्तरमा सवलिकरण गर्दै कार्यन्वयनमा जान उपयुक्त भएकाले सरकारको ध्यानाकर्षण गराएको पनि समिति सभापति तारा देवी भट्टले बताए ।

समितिले विकासका गतिविधिहरुको ढिलाई हुने कारण र कसरी गुणस्तरको मापन भइरहेको छ भन्ने सन्दर्भमा अध्ययन गर्न कार्यदल गठन गरी सरकार र समितिलाई प्रतिवेदन पेस गर्न पनि राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

त्यस्तै मन्त्रालयहरुमा विनियोजन गरेर विभिन्न शिर्षकमा राखिएका बजेटहरु र बिना सार्वजनिक सुनुवाई र विशेषज्ञको छलफल बिना रकमान्तर नगर्न सरकारलाई निर्देशन दिएको छ । आगामी आर्थिक वर्षको बजेटलाई पुर्व बजेटको आधारमा विश्लेषण गरी बढीभन्दा बढी दिगो विकास मैत्री बनाएर लानको निम्ति पनि सरकारलाई समितिले निर्देशन दिएको सभापति भट्टले बताए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै सरोकारवाला मन्त्रालयहरुले एसडीजी बजेट कोड राखेर कार्यान्वयन गर्न समितिले निर्देशन दिएको छ भने दिगो विकास लक्ष्य ८ अन्र्तगत मर्यादित रोजगारी सृजना गराउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया