शुक्रबार, वैशाख २६, २०८२

युरोपमा बाढीले जनजीवन अस्तव्यस्त : १०८ जनाको मृत्यु, जर्मनीमा सबैभन्दा बढी क्षति

नेपालखोज २०७८ साउन १ गते १७:३५

बर्लिन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी ९३ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

सबैभन्दा बढी क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहोरिरहने जनाएको छ, तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ । नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् । हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एन्जेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपत्‌को संज्ञा दिएकी छन् ।

प्रतिक्रिया