सर्वोच्चको आदेशविरुद्ध एमालेले देशभर भण्डाफोर अभियान थाल्ने (फोटो फिचर)

काठमाडौं । नेकपा (एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।शुक्रबार संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको नेकपा (एमाले)को संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर मुलुकलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले संसदीय दलको बैठकले आपत्ति जनाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । सवोच्चको फैसलाको विरोधमा देशभर भण्डाफोर गर्ने निष्कर्ष निकालिएको उनले बताए ।

उनले भने– ‘सम्मानित सर्वोच्च अदालतको तर्फबाट संविधानको धारा/उपधाराको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रुपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो । निर्दलीय व्यवस्था तर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो । त्यसप्रति हाम्रो यो बैठकले आपत्ति व्यक्त गरेको छ र यसलाई व्यापक रुपमा जनताका विचमा भण्डाफोर गर्ने हामीले निष्कर्ष निकालेका छौँ । र यसलाई हामी व्यापक रुपमा जनताका विचमा पुर्याउने छौँ ।’

बैठकले ओली नेतृत्वको सरकारले बाढीपहिरो पीडित घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै वर्तमान सरकारसँग घाइतेको निःशुल्क उपचार गर्न माग पनि गरेको छ ।

प्रतिक्रिया