मंगलबार, वैशाख १८, २०८१

सम्पदा निर्माण गर्न महानगर सक्षम भएको शाक्यको दावी

नेपालखोज २०७६ माघ ९ गते १८:०५

९ माघ, काठमाडौं । काठमाडौंको विशेष पहिचानका रुपमा रहेको भूकम्पबाट क्षतिग्रस्त भएको काष्ठमण्डप पुर्ननिर्माणका लागि काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुर्ननिर्माण समितिलाई थप पाँच करोडको चेक उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँ थप रकमको चेक प्रदान गरेका हुन् । बिहीबार हनुमानढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै काठमडौं महानरका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुर्ननिर्माणको कामको प्रगति देखेर पाँच करोड रुपैयाँ थप दिएको बताए ।

शुरुमा महानगरले दिएको ५० लाख रुपैयाँले काम हुन्छ कि हुँदैन भन्ने आशंक पैदा भईरहेको अवस्थामा पुननिर्माणको काम करीब ५५ प्रतिशत सकिएकाले रकम थप गरेको शाक्यले बताए । उनले महानगरभित्रका सांस्कृतिक सम्पदाको मर्मत सम्भार तथा प्रवर्धन गर्न हामी आफै सक्षम भएकाले अरुको मुख नताक्ने समेत बताए ।

कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले श्रोत भएर मात्र पनि काम गराउन चुनौती भएको बताउँदै सीप र कला भएका कलाकार भेला गराएर समितिले काम गराउनु नै ठूलो उपलब्धी भएको धारणा राखिन् ।

महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि २०७५ जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ र त्यसै बर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुननिर्माणको करीब ५५ प्रतिशत काम समाप्त भएको जनाउँदै समितिबाट थप रकम माग भएपछि महानगरले बाँकी काम अघि बढाउन ५ करोड थप रकम उपलब्ध गराएको हो ।

प्रतिक्रिया