एमालेभित्रको अन्तरकलह संसदीय समितिमा छताछुल्ल, बैठक विषयमा प्रवेश नै नगरी स्थगित

काठमाडौं। नेकपा एमालेभित्रको अन्तरकलह संसदीय समितिमा पनि छताछुल्ल भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद र नेता माधवकुमार नेपालबीच भनाभन भएपछि बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको छ ।
समितिबाट यसअघि जारी भएका निर्देशनहरु कार्यान्वयनको विषयमा छलफल गर्न डाकिएको बैडक बोलाइएको थियो । बैठकको सुरुमै बोल्दै नेता नेपालले प्रतिनिधि सभा पुनःस्थापना भएकोमा खुसी व्यक्त गरेका थिए ।
केही समयपछि बैठकमा प्रवेश गरेका ओली पक्षका सांसद नारदमुनि रानाले प्रतिनिधिसभा विघटनको जिम्मा माधव नेपालहरुले लिनुपर्ने बताएका थिए । रानाले बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिंदा घरमा सुतेर बस्नेहरुले प्रतिनिधिसभा पुनःस्थापना भयो भन्दै कराउनुको औचित्य नभएको पनि बताए ।
राना बोल्दाबोल्दै बीचमै उठेर नेपाल पक्षका दिपकप्रकाश भट्टले चर्को स्वरमा ’प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजेका थिए । लगत्तै नेता नेपालले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार नभएको भन्दै राजीनामा दिएर बाहिर जान भनेपछि स्थिति तनावमय बनेको थियो ।
बैठकमा कांग्रेस र माओवादीका सांसदहरूले पनि नेपाल समूहलाई साथ दिएका थिए । सांसद् पक्ष विपक्षमा बोल्न थालेपछि समितिको बैठक नै स्थगित भएको थियो ।
प्रतिक्रिया