आइतबार, जेठ ५, २०८२

मिजोरम र असमको सीमा विवाद थप उग्र हुने संकेत

नेपालखोज २०७८ साउन १२ गते १८:५७

काठमाडौं । भारतको असम र मिजोरम राज्यका प्रहरीबीच सोमबार साँझ दोहोरो भिडन्त भयो । भिडन्तका क्रममा पाँच जना असम प्रहरीका जवान मारिए भने दुवैतर्फका दर्जनौं प्रहरी घाइते भए । छिमेकी देशबीच सीमाका बिषयलाई लिएर समय–समयमा विवाद हुनु र युद्धसम्मको अवस्था हुनु स्वभाविक हो । तर, भारतका कतिपय प्रादेशिक राज्यहरुबीच वर्षौंदेखि सीमा विवाद रहँदै आएको छ । विवाद चुलिँदै जाँदा बेलाबेला स्थानीय र प्रहरीबीच ज्यान जाने गरीका झडपहरु हुने गरेका छन् ।

सोमबार रातीको झडपको विषय अहिले भारतीय संचारमाध्यमहरुका लागि गतिलो इस्यु भएको छ । भारतको यो आन्तरिक युद्ध नेपाललगायत विश्वका विभिन्न देशहरुको चासोको विषय पनि बनेको छ । नेपाल पनि संघीयतामा गएर प्रादेशिक विभाजन भईसकेको देश हो । सबै राज्यको नामाकरण नभइसकेको अवस्थामा नेपालको संघीयताको भविष्य सम्बन्धमा प्रश्न उठ्न थालिसकेका छन् ।

छिमेकी देश भारतका प्रादेशिक सीमाका विषयहरु किन युद्धसम्मको अवस्थामा पुगेका होलान् ? आखिर सबै प्रदेश भारत देश भित्रैका हुन्, अलिकति भुभाग तलमाथि हुँदा के फरक पर्छ र ? कुनै शत्रुतापूर्ण सम्बन्ध भएका दुई देशहरु जस्तै युद्ध गरेरै अर्को राज्यमा खटिएका आफ्नै देशका सेना मार्नु पर्छ र ? मिजोरम र आसामका प्रहरीबीच भिडन्तले विश्वका राजनीतिशास्त्री र विदेशी कुटनीतिज्ञहरुको दिमागमा आजभोलि यस्तैयस्तै प्रश्नहरु उब्जाएको छ । जव सोमबार साँझ दुई राज्यका प्रहरी जवानबीच सीमा युद्ध भयो । तब असम राज्यका मुख्यमन्त्री हिम्मत बिस्वा सरमाले सामाजिक संजाल ट्वीटरमार्फत सार्वजनिक गरे ।

मुख्यमन्त्री सरमाले ट्वीटरमा प्रहरी जवानको मृत्यु राज्यको सीमा रक्षा गर्दा भएको भन्दै दुखः व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् , धेरै पीडाबोध भएर यो जानकारी दिईरहेको छु, की असम पुलिसका पाँच बहादुर जवानको आसाम– मिजÞोरम सीमामा राज्यको संवैधानिक सीमाको रक्षा गरिरहेको बेला मृत्यु भएको छ । सीमाको रक्षा गर्दा बलिदान गर्ने प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’

ट्वीटरमा असमका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाले एक अर्कालाई दोहोरी खेलेझैं आरोप –प्रत्योरप गरेका छन् । छिमेकी प्रादेशिक राज्यका मुख्यमन्त्रीबीच सामाजिक संजालमा भएको आरोप –प्रत्यारोपलाई भारतमा पहिलो घटनाको रुपमा लिइएको छ । सामाजिक संजालमा दुई मुख्यमन्त्रीबीच भएको जुहारीको परिणाम केही घण्टापछि नैं देखियो । दुई मुख्यमन्त्रीको आरोप–प्रत्यारोपको परिणाम भनेको दुई राज्यका प्रहरी जवानबीचको हिंसक झडपमा पाँचजना असम प्रहरीको मृत्यु भयो ।

भारतका विभिन्न राज्यहरुबीच सीमा विवाद बर्षौदेखि हुँदै आएपनि मोजोरम र असम प्रहरीबीच ज्यान जाने गरी भएको झडप भने भारत स्वतन्त्र भएपछिको पहिलो घटना मानिन्छ । सोमबार उक्त घटना भएको एक दिन अघि मात्रै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले मेघालयको राज्य शिलांगमा भारतको उत्तर–पूर्वी राज्यका सात जना मुख्यमन्त्रीसँग भेटघाट पनि गरेका थिए ।

भारतको उत्तर–पूर्वी राज्यका सात वटा राज्यलाई सेभेन सिस्टर्सको उपनाम पनि दिने गरिन्छ । केन्द्रीय मन्त्री शाह र मुख्यमन्त्रीहरुबीच सीमा विवाद सम्वन्धमा नैं छलफल भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । केन्द्रीय मन्त्री शाहसँग सीमाको सम्वन्धमा छलफल हुँदा आसाम र मिजोरमको सीमा विवादको सम्वन्धमा गम्भीर विवाद भएको थियो । छलफलमा दुई मुख्यमन्त्रीबीच चुलिएको अहंकारपूर्ण अवस्थाको परिणाम दुई राज्यका सुरक्षा बलबीच भएको झडपलाइ लिन सकिन्छ ।

आइतबार विहान साढे ११ बजे मिजोरमको कछार जिल्लास्थित वैरंगतमा अवस्थित सीआरपीएफ पोस्टमा असम प्रहरीको दुई सय भन्दा बढि प्रहरी समूह पुग्यो । सो समूहले मिजोेरम पुलिस र स्थानीयबासीमाथि अन्धाधुन्ध आक्रमण गरेको मिजोरमका मुख्यमन्त्री जोरामथांगाले दावी गरेका छन् । भारतीय प्रहरीले मिजोरमका जनतामाथि लाठी चार्ज गरेको थियो । त्यसपछि दुवै राज्यका सुरक्षाबलबीच झडप भएको थियो । असम पुलिसले मिजोरमका प्रहरीतिर लक्षित गर्दै ग्र्रेनेड आक्रमण गरेपछि दोहोरो फयरिङ् भई स्थिति झन् तनावपूर्ण भएको बताइएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथांगाले असम प्रहरीले आक्रमण गरेपछि जवाफी कारवाही गरिएको स्पष्ट पारेका छन् ।

यता असमका मुख्यमन्त्री सरमाले लैलापुर जिल्लास्थित असमको इलाकामा मिजोरम सरकारले सडक बनाउन सुरु गरेपछि आक्रमणसम्मको अवस्था आएको संकेत गरेका छन् । असम प्रहरीले आक्रमण सुरु गरेपछि मिजोरम प्रहरीले जवाफी आक्रमण गर्यो भने मिजोरमका सयौं सर्वसाधारणले असम प्रहरीमाथि ढुंगा बर्षाए । फलस्वरुप असम प्रहरीका पाँचजनाको मृत्यु भयो भने ५० बढी सर्वसाधारण घाइते भए । दुई राज्यमा एक राज्यका जनताले अर्को राज्यका जनतालाई खराव नजरले हेर्ने र दवाउने चलन पनि बर्षौदेखि रहि आएको छ ।

सोमबार साँझ दुई राज्यबीच भएको दोहोरो आक्रमणको चुरो कुरो वास्तवमा धेरै बर्षदेखि दुई राज्यवीच हुँदै आएको सीमा विवाद नैं हो । यसअघि पनि दुवै राज्यका बिभिन्न ठाउँमा प्रहरी र जनताबीच विवाद हुँदै थियो । तर सोमबारको जस्तो झडप नत असमबासी, नत मिजोरमबासीले नैं सोचेका थिए । गृहमन्त्री शाहले मुख्यमन्त्रीहरुलाई भेटेको भोलिपल्टै झडप हुनुलाई धेरै असम र मिजोरमबासीले अर्थपूर्णरुपमा लिएका छन् । बर्षौदेखिको सीमा विवाद समाधान नगर्नु केन्द्र र प्रदेश सरकार जिम्मेवार हुनुपर्ने दुवै राज्यका बासिन्दाको भनाई छ ।

असम र मिजोरम राज्यबीचको सीमा विवाद औपनिवेशिक कालदेखि नैं भएको भारतका अग्रज पत्रकारहरुको ठहर छ । भारतका बिभिन्न राज्यका दस्तावेज अनुसार मिजोरम सन् १९७२ सम्म आसाम राज्यभित्र पर्दथ्यो । मिजोरम पहिले लुशाई हिल्स नामको असमको एउटा जिल्ला थियो । उक्त जिल्लाको सदरमुकाम आइजोल थियो । असम–मिजोरमको यो विवाद सन् १८७५ देखिको भएको बताइन्छ । लुशाइबासीलाई मिजोरमको अर्को ठाउँ कछार इलाकाबाट अलग गरेपछि सीमा विवाद हुन थालेको दस्तावेजहरुमा उल्लेख छ ।

भारतीय जानकारहरुका अनुसार मिजोरम पहिले असममैं पर्दथ्यो । तर मिजो समुदाय र लुशाई हिल्स समुदायको क्षेत्र निश्चित थियो । यसको निक्र्योल सन् १८७५ मा नैं गरिएको भन्दै मिजोरम सरकारले मिजोम र लुशाई भूमी आफ्नो भएको दावी गरिरहेको छ । तर असम सरकार उसको दावीप्रति असहमत छ ।

असम सरकार सन् १९३३ मैं नक्शामा राखिएको मिजो र लुशाई भूमी आफ्नो हो भनेर दावी गरिरहेको छ । वास्तवमा यी दुई राज्यबीचको खास विवाद दुई भूभाग मिजोम र लुशान आ–आफ्नो स्वामित्वमा पार्ने भन्ने हो । असम र मिजोरमबीच लगभग १६५ किलोमीटर लामो साझा सीमाना रहेको छ । जसमा मिजोरमको आइजोल, कोलासिब र ममित गरी तीन जिल्ला पर्दछन् । सोही सीमा क्षेत्रमा असमको कछार, करीमगंज र हैलाकांदी जिल्ला पर्दछन् ।

प्राप्त जानकारी अनुसार सन् २०२० को अक्टोवरमा असमको कछार जिल्लाको लैलापुरबासी र मिजोरको कोलासिब जिल्लाका वैरेंगते बासीबीच सीमा विवादलाई लिएर हिंस्रक संघर्ष हुँदा कम्तिमा एक दर्जन मानिस घाइते भएका थिए । जुन सीमा क्षेत्रमा बढी जनसंख्या बसोबास गरेको छ, सोही सोही क्षेत्रमा घर बनाउने, खेती गर्ने र सामुहिक संरचना बनाउने बेलामा विवाद हुने गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय जानकारहरुका अनुसार असमको मिजोरमसँग मात्र नभई मेघालय, अरुणाञ्चल र नागालैंड प्रदेशसँग पनि सीमा विवाद रहेको छ । असमका मुख्यमन्त्री सरमाले अरु राज्यहरुसँगको सीमा विवाद समाधान हुने सम्भावना भएपनि मिजोरमसँग समाधान हुन मुस्किल हुने प्रतिक्रिया दिँदै आएका छन् । वास्तवमा असमका मुख्य मन्त्री सरमाको यो अभिव्यक्तिले मिजोरम र असमबीचको सीमा विवादले अझ उग्ररुप नलेला भन्न सकिदैन् । मुख्यमन्त्री सरमाको अभिव्यक्तिबाट मिजोरमले दावी गरेको मिजोम र लुशान भू-भाग फिर्ता गर्ने छाँटकाँट देखिदैन् । मिजोरम सरकारले भने सीमा विवादलाइ क्षेत्रीय अस्मिताको सवाल बनाईरहेको छ । यसबाट मिजोरम राज्य सरकार पनि टसको मस नहुने स्थित देखिन्छ ।

प्रतिक्रिया