मंगलबार, वैशाख १८, २०८१

कर र कमिसनले इन्धनको मूल्य दोब्बर !

नेपालखोज २०७८ साउन १८ गते ६:३६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।

मूल्यवृद्धिसँगै नेपाल आयल निगमको घाटा पनि बढिरहेको छ । प्रतिलिटर १२८ रुपैयाँ पुगेको पेट्रोलको मूल्य कम्तीमा १४० सम्म पुग्ने अनुमान गरिएको छ । नेपाल आयल निगमलाई प्राप्त पछिल्लो मूल्यसूचीअनुसार १५ दिनमा कुल एक अर्ब २१ करोड रुपैयाँ घाटा भएको छ । पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ र एलपी ग्यासमा प्रतिलिटर ४४२ रुपैयाँ घाटा भइरहेको निगमका प्रवक्ता विमितमणि उपाध्यायले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५ अमेरिकी डलर पुगेको छ ।

पेट्रोल डिजलमा खरिद मूल्यभन्दा बढी कर उठाइएको छ । पेट्रोलियम पदार्थको कर र कमिसनका कारणले पनि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य छन् भने निगम घाटा बेहोर्न बाध्य रहेको खबर गोरखापत्र दैनिकमा छ । निगमले प्रतिलिटर ६९ रुपैयाँ ८५ पैसामा पेट्रोल खरिद गरेर १२८ रुपैयाँमा बिक्री गरेको छ तर पेट्रोलबाट हाल प्रतिलिटर १० रुपैयाँ घाटा भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । निगमले डिजेल प्रतिलिटर ६४ रुपैयाँ ६० पैसामा खरिद गरी १११ रुपैयाँमा बिक्री गर्छ । खरिद गरिएको पेट्रोलियम पदार्थमा विभिन्न कर तथा कमिसन जोडिएका छन् । निगमले आफ्नो प्रशासनिक खर्च भनेर प्रतिलिटर ६० पैसा उठाउँछ । ढुवानी भाडाबापत प्रतिलिटर चार रुपैयाँ ५७ पैसा लिइन्छ । पम्पहरूलाई कमिसन प्रतिलिटर तीन रुपैयाँ ३९ पैसा पेट्रोल र प्रतिलिटर तीन रुपैयाँ १२ पैसा डिजेलमा दिइन्छ । पूर्वाधार विकास कर प्रतिलिटर १० रुपैयाँ लिइन्छ ।

वातावरण प्रदूषण कर प्रतिलिटर एक रुपैयाँ ५० पैसा उठाइएको छ । साथै भन्सार शुल्क, सडक मर्मत, आयकर, बैङ्कको ब्याजलगायतका सवाल पनि यसैमा समेटिएको छ । जसका कारण दोब्बर मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।

निगमका अनुसार पेट्रोलिय पदार्थमा घाटा बेहोर्नुको अर्को कारण एलपी ग्यास हो । निगमलाई हाल एलपी ग्यासबाट प्रतिसिलिन्डर ४४२ रुपैयाँ घाटा भइरहेको छ । एलपी ग्यास प्रतिसिलिन्डर एक हजार २८८ रुपैयाँमा खरिद गरी एक हजार ४२५ रुपैयाँमा बिक्री गरिन्छ । हवाई इन्धन र मट्टीतेलमा भने घाटा छैन तर हाल मट्टीतेल र हवाई इन्धनको कारोबार नभएकाले पनि घाटा बढिरहेको निगमले जनाएको छ ।

२०७७ सालमा नाफामा गएको निगम त्यसपछि निरन्तर घाटामा गइरहेको छ । हवाई इन्धनमा सामान्य नाफा छ तर कोरोनाले गर्दा बिक्री छैन । निगमका अनुसार १५ दिनमा डिजेलमा करिब ३७ करोड रुपैयाँ, पेट्रोलमा २४ करोड रुपैयाँ र एलपी ग्यासमा ६६ करोड रुपैयाँ घाटा छ ।

प्रतिक्रिया