शुक्रबार, असार १३, २०८२

यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने

नेपालखोज २०७८ साउन २१ गते ९:४२

आबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।

मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो । खोपबारे गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीहरूले जनाएका छन् ।

बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले आँट नगरिरहेका बेला यूएईले गरेको निर्णयबाट धेरैलाई खुसी तुल्याएको छ ।

‘बालबालिकालाई पनि खोप लगाएपछि कोरोना भाइरसको महामारीविरुद्ध लड्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ,’ राज्यद्वारा सञ्चालित समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा उल्लेख गरिएको छ । चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप यूएईमा पनि उत्पादन गर्न थालिएको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया