सोमबार, असार २३, २०८२

सदस्यता नविकरण गर्नेलगायत सबै खाले सांगठनिक गतिविधि रोक्न नेपाल पक्षको माग

नेपालखोज २०७८ साउन २२ गते १८:१८

काठमाडौं । नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षले पार्टीको सदस्यता नविकरण गर्नेलगायतका सबै खालका सांगठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ । नेता नेपाल पक्षका केन्द्रिय सदस्यहरुको बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले पार्टी एकतामा भाँजो हाल्ने काम हुने निष्कर्ष निकाल्दै एकतर्फीरुपमा पार्टीको सदस्यता नविकरण गनेलगायतका सांगठानिक गतिविधि तत्काल रोक्न अध्यक्ष ओलीसँग माग गरेको हो ।

पार्टी एकतालाई भाँजो हाल्ने भएकाले पार्टीको सदस्यता नविकरणलगायतका सबै खालको सांगठानिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराइएको नेता रघुजी पन्तले जानकारी दिए । बैठकले पार्टी एकताका लागि आवश्यक निर्णय लिने जिम्मेवारी आफू पक्षमा स्थायी समितिका नेताहरुलाई दिने निर्णय पनि गरेको छ ।

नेता पन्तले भने, ‘पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला एक पक्षीय ढंगले सदस्यता नविकरण, अधिवेशन र पुनर्गठन जस्ता काम अघि बढाइनुले एकतालाई भाँजो हाल्ने काम हुन्छ । त्यसैले तत्काल सदस्यता नविकरण जस्ता सबै सांगठानिक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गर्दछ ।’

बैठकमा नेपाल पक्षमा केन्द्रिय सदस्यहरुले पार्टी एकतामै जोड दिएका थिए । त्यसको जवाफ दिने क्रममा नेता नेपालले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए । उनले आफूले पार्टी एकताकै पक्षमा जोड दिन चाहेको उल्लेख गर्दै सोही ढंगले आफ्नो मनोबल र उत्साहलाई कामय राख्दै पार्टी एकताको प्रयत्नलाई जारी राख्न पनि आफू पक्षका केन्द्रिय सदस्यहरुलाई आग्रह गरे ।

नेता नेपालले बैठकमा अध्यक्ष ओलीले आफूहरुलाई अल्मल्याउन खोजेको होकि ? भन्ने आशंकासमेत व्यक्त गरेका नेता पन्तले बताए । नेता नेपालको भनाई उधृत गर्दै नेता पन्तले भने, ‘केपी ओलीले जति नै गाली गरेपनि आफू पार्टी एकतावद्ध होस भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ । पार्टी एकतामा जोड दिन चाहन्छु ।’ माधव नेपाल पक्षले १० बूँदे सहमतिलाई पार्टी एकताको आधार भएको उल्लेख गर्दै थप आधारहरु तयार पार्न सगजताका साथ अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिनुपर्ने आवश्यक्ता समेत औंल्याएको छ ।

प्रतिक्रिया