कोरोनाको नयाँ भेरियन्टले भ्याक्सिनको प्रभावलाई चुनौति दिने

काठमाडौं । अहिले संसारभर कोरोना भाइरसको आगामी लहरलाई लिएर चिन्ता अनि चासो छ । यसक्रममा कतिपय देशले सुरक्षणात्मक उपायहरु पनि अपनाउन थालिसकेका छन् । यो विषयमा भ्रम र हल्ला पनि उत्तिकै छ ।
त्यस्तै परिस्थितिबीच अमेरिकी डाक्टर एन्थोनी फोसीले अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरियन्ट निकै तिब्र गतिले बढिरहेको र आगामी केहि साताभित्रै संक्रमितको संख्या हप्तामा २ लाख पुग्न सक्ने बताएका छन् ।
महत्त्वपूर्ण कुरा के हो भने, डाक्टर एन्थोनी अमेरिकी राष्ट्रपति जो बाइडेनका मुख्य स्वास्थ सल्लाहकार हुन् । डाक्टर एन्थोनीले भनेका छन् – आउने दिनहरुमा अमेरिका भयावह स्थितिमा पुग्न सक्छ । किनभने अमेरिकामा ठुलो संख्यामा मानिसहरुले भ्याक्सिन लगाएका छैनन् । एन्थोनीका अनुसार कोरोनाको नयाँ भेरियन्टले हाल विश्वव्यापीरुपमा दिइरहेको भ्याक्सिनको प्रभावलाई समेत चुनौती दिनेछ ।
अमेरिकाको नेशनल इंस्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्टियस डिसीजका समेत प्रमुख डाक्टर एन्थोनी भन्छन् – अमेरिका कोरोनाविरुद्ध खोप लगाउने कुरामा कमजोर हुँदैछ, पछिल्लो हप्ता कोरोना संक्रमणको ग्राफ बढेको छ । अहिले दैनिक ८५ हजार केश दर्ता भैरहेका छन् ।
अमेरिकामा अहिलेसम्म सबैभन्दा बढि गएको ७ जनवरीमा २ लाख ९५ हजार ८ सय ८० कोरोनाका विरामी देखा परेका थिए भने सबैभन्दा कम १४ जुनमा ८ हजार ६९ नयाँ संक्रमित भेटिएका थिए । डाक्टर एन्थोनी चेतावनी दिँदै भन्छन् – केहि महिना पहिलेसम्म दैनिक १० हजार कोरोनाका नयाँ संक्रमित देखिने अमेरिकामा यो संख्या बढेर १ देखि २ लाखसम्म पुग्न सक्छ ।
प्रतिक्रिया