जापानबाट दोस्रो खेप एस्ट्राजेनेका खोप पनि नेपाल आइपुग्यो

काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको दोस्रो खेप एस्ट्राजेनेका खोप पनि नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा हिजो ५ लाख र आज थप तीन लाख डोज खोप आइपुगेको हो ।
जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्ता पछि आउने स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।
अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डोज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डोज खोप खरिद गरेको छ । चीनबाट ४० लाख डोज भेरोसेल र भारतबाट २० लाख डोज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डोज खोप अझैसम्म आपूर्ति भएको छैन् ।
प्रतिक्रिया