शनिबार, असार १४, २०८२

अफगानिस्तानमा तालिबानद्वारा थप तीन क्षेत्रीय राजधानीमा नियन्त्रण

नेपालखोज २०७८ साउन २५ गते १०:१२

काठमाडाैं । तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ ।

अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो । उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ ।

तालिबानले आइतबार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उसले सार-ए-पोल र तालोकान सहरमा पनि कब्जा गरेको छ ।

तालिबानले गत शुक्रबारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ । तालिबानले पछिल्ला साताहरूमा त्यहाँ तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरिरहेको छ ।

देशका बाहिरी क्षेत्रमा व्यापक नियन्त्रणपछि उसले अहिले मुख्य सहरहरूलाई लक्षित गर्दै हमला गरिरहेको छ । उत्तरी क्षेत्रका तीनवटा मुख्य सहरहरू आइतबार केही घण्टाको बीचमै तालिबानको नियन्त्रणमा गएका थिए ।

अफगान सरकारले चाहिँ तालिबानको नियन्त्रणमा गएका क्षेत्रहरूलाई पुनस् फिर्ता ल्याउन सरकारी फौजले कारबाही जारी राखेको जनाएको छ । पश्चिमी सहर हेरात र दक्षिणी सहरहरू कान्दाहार तथा लश्कर गाहमा पनि तीव्र लडाइँ भइरहेका खबरहरू आएका छन् ।

यस वर्ष अफगानिस्तानबाट हजारौँ नागरिकहरू विस्थापित भएका छन् । शिशु र बालबालिकासहितका कैयौं परिवारले पूर्वोत्तर सहर असादाबादको एउटा विद्यालयमा शरण लिइरहेका छन् ।

अमेरिकाले तालिबान रहेका क्षेत्रमा हवाई आक्रमणलाई तीव्र बनाएको छ । ती हमलाहरूमा कैयौँ तालिबानहरू मारिएको अफगान सेनाको भनाइ छ । बीबीसी

प्रतिक्रिया