‘दक्ष जनशक्तिको पलायन रोक्न नयाँ मेडिकल कलेजलाई सम्बन्धन आवश्यक’

काठमाडौं । अहिलेको अवस्थामा देशभर मेडिकल कलेज खुल्नुपर्ने आवश्यकता देखिएको छ । अझै पनि देशका दुर्गम बस्तीका जनता घण्टौं हिँडेर मेडिकल सेवा लिन बाध्य छन् । अर्कोतर्फ नयाँ मेडिकल कलेजहरूलाई सम्बन्धन नदिए देशको ठूलो जनशक्ति विदेशिन बाध्य हुने पक्का देखिन्छ ।
‘देशमा हरेक वर्ष हजारौंको संख्यामा मेडिकल शिक्षा लिने विद्यार्थीको संख्या बढ्दो छ । तर मेडिकल कलेज नै नहुने हो भने एकातर्फ देशमा उत्पादन भएको जनशक्ति विदेशिन बाध्य हुने भयो भने अर्कोतर्फ देशमा दक्ष जनशक्तिको अभाव हुन जान्छ,’ एक सञ्चालकले नेपालखोजसँग भने । भएका जनशक्ति नै विदेशिन थालेपछि यहाँका जनता गुणस्तरीय स्वास्थ्य पाउनबाट समेत वञ्चित हुने सञ्चालकहरू बताउँछन् ।
नेपाल विस्तारै मेडिकल हबका रुपमा स्थापित भइरहेको अवस्थामा विरोधका आवाजहरू उठ्न थालेपछि मेडिकल क्षेत्र अस्तव्यस्त हुन थालेको भन्दै सञ्चालकहरूले चिन्ता व्यक्त गरेका छन् । ‘स्वास्थ्य क्षेत्रमा अर्बौंको लगानी गरेर हजारौं जनशक्तिलाई रोजगारी सिर्जना गर्ने मेडिकल कलेजहरूले सम्बन्धन नपाउने हो भने देशमा उत्पादन भएका दक्ष जनशक्ति विदेशिएर जाने पीर छ,’ ती सञ्चालकले भने ।
तर चिकित्सा शिक्षा सुधारका लागि भन्दै अभियान चलाइरहेका डा. गोविन्द केसीले भने निजी मेडिकल कलेजहरूलाई सम्बन्धन दिन नहुने भन्दै बारम्बार आवाज उठाउँदै आएका छन् । हाल सञ्चालनमा रहेका मेडिकल कलेजमध्ये कतिपयले आवश्यक संख्यामा बिरामीसमेत पाउन नसकिरहेको अवस्थामा दल विशेषकै दबाबका आधारमा नयाँ कलेजहरूलाई सम्बन्धन दिन थालिएको केसीको आरोप छ । उनले थप मेडिकल कलेज राज्यले थेग्न नसक्ने बताउँदै आएका छन् ।
तर, अहिलेको अवस्थामा मेडिकल कलेज सञ्चालनमा अवरोध नभएर सहज वातावरण हुनुपर्ने सञ्चालकहरूको भनाइ छ । उनीहरुले देशमा अझै मेडिकल कलेजहरूको आवश्यकता औंल्याएका छन् । ‘मेडिकल कलेज खोल्न सहज वातावरण हुनुपर्छ । कानुनी अड्चन होइन सहयोगी बन्यो भने रोजगारीका सिर्जना बढाउन यसले महत्त्वपूर्ण भूमिका खेल्छ,’ ती मेडिकल कलेज सञ्चालकको भनाइ छ,’ सम्बन्धनको पनि सहज व्यवस्था गरिनु अहिलेको आवश्यकता पनि हो ।’
नेपाल मेडिकल काउन्सिलले तय गरेको मापदण्डअनुसार १५० विद्यार्थी क्षमताको मेडिकल कलेजका लागि कम्तीमा ७५० शय्या रहनुपर्छ जसको ६० प्रतिशत शय्याहरू बिरामीले भरिएको हुनुपर्छ । साथै अस्पतालको बहिरंग सेवा ओपीडीमा दैनिक साढे सात सय बिरामी उपचारका लागि आउनुपर्छ । तर नयाँ मेडिकल कलेज सञ्चालकहरुले सबै मापदण्ड पूरा गरे पनि सम्बन्धनका लागि राज्यबाट दु:ख पाइरहेको गुनासो गर्छन् ।
हाल राजधानीमा सञ्चालनमा रहेका मेडिकल कलेजले सञ्चालन गरेका अस्पतालमा बिरामीभन्दा पढिरहेको विद्यार्थीको भिड देखिने स्वयं चिकित्सकहरू बताउँछन् । यसले पनि नेपालमा मेडिकल बढ्ने विद्यार्थी बढि रहेको प्रस्ट हुन्छ ।
केही समयअघि झापास्थित बीएन्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको थियो । तर, बीएन्डसीलाई सम्बन्धन दिन नहुने भन्दै डा. केसी अनशन नै बसे । उनको पक्षमा देशभर विरोधसमेत भयो । डा. केसीका अनुसार एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नसकिने कुरा विधेयकमा समेटिएको छ ।
तर विभिन्न बहानामा मेडिकल कलेज सञ्चालनमा रोक लगाउनुभन्दा पनि कसरी हुन्छ सहज र सरल तवरले अघि बढ्ने, नयाँ मेडिकल कलेजलाई सम्बन्धनका लागि रहेको झन्झटिलो प्रक्रिया हटाउनुपर्ने देखिएको छ ।
मेडिकल कलेजका सञ्चालकहरूले भने नयाँ मेडिकलहरूलाई सम्बन्धन नदिने हो भने देशको ठूलो जनशक्ति विदेशिन बाध्य हुने बताउँछन् । ‘दक्ष जनशक्ति उत्पादनका साथै जनतालाई सहज तवरले स्वास्थ्य सेवा दिनकै लागि भए पनि नयाँ मेडिकल कलेजहरुलाई दिइने सम्बन्धनको प्रक्रिया सहज बनाउनुपर्छ,’ ती मेडिकल कलेजका सञ्चालक भन्छन्, ‘प्रक्रिया पूरा गरेर मेडिकलहरूलाई सम्बन्धन दिन सके राज्यको जनशक्ति उक्त क्षेत्रबाट पलायन हुनबाट बच्ने र नागरिकले पनि गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छन् ।’
उनले अहिले पनि आवश्यक उपकरणहरू पर्याप्त हुने हो भने स्वास्थ्यका हिसाबले नेपाल सक्षम भइसकेको दाबी गर्छन् । यसो गर्न सके हरेक वर्ष उपचारका लागि विदेशमा खर्च हुने खर्बौं रुपैयाँ नेपालमै आउनेछ । ‘मुलुक समृद्धिको दिशातर्फ अघि बढ्न झन् सहज हुनेछ,’ उनले भने ।
प्रतिक्रिया