बुधबार, जेठ १, २०८२

चिकित्सा शिक्षा परीक्षामा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण

नेपालखोज २०७८ साउन २६ गते १०:०४

चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको संख्या कम भएको छ । चिकित्सा शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।

विद्यार्थी कम भएपछि निजी शिक्षण संस्था सञ्चालक अन्योलमा परेका छन् । विभिन्न विश्वविद्यालका आंगीक र सम्बन्धन पाएका गरी स्वास्थ्य स्नातक पढाउने ७६ क्याम्पस छन् । आयोगले हालै सार्वजानिक गरेको नतिजाअनुसार धेरै स्नातक कार्यक्रममा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् ।

आयोगले यही साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा ६ विषयमा सिट सङ्ख्याभन्दा उत्तीर्ण हुनेको सङ्ख्या कम भएको पाइएको छ । आयोगको नतिजाअनुसार एक हजार ४२० बीपीएच सिट संख्यामा ५६५, ९०२ बी फर्मामा ५४७, १५० बीपीटीमा ११४ , ७१ बीएससी एमआईटीमा ३५ मात्रै उत्तीर्ण भएका छन् ।

यसैगरी ४२५ बीएससी एमएलटीमा ११८, एक हजार १०० बीएससी नर्सिङमा ५०४ उत्तीर्ण भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यसँग सम्बन्धित निजी प्राविधिक क्याम्पसका सञ्चालकको संस्था एलाइड साइन्स इन्स्टिच्युसनल एसोसिएसन नेपाल (एसिया) का अध्यक्ष यमप्रसाद अधिकारीले सरकारी क्याम्पसलाई मात्रै पुग्ने गरी विद्यार्थी उत्तीर्ण गराइएको बताए ।

‘कतिपय विषयमा त छात्रवृत्ति कोटाका लागि पनि विद्यार्थी पुग्दैन,’ उनले भने । राष्ट्रिय-अन्तर्राष्ट्रिय गिरोह सक्रिय भएर नेपालका निजी क्याम्पस प्रभावित बनाउने काम भएको उनको आरोप छ । यहाँका विद्यार्थी विदेश पठाउनका लागि गिरोहले काम गरिरहेको जनाउँदै उनले भने, ‘स्वास्थ्य शिक्षामा आकर्षण छ, ती विद्यार्थी बाहिर पठाउने गिरोह सक्रिय भएको छ ।’

नेपालका निजी क्याम्पसहरुमा एउटामा अस्पतालसहित रु एक अर्ब ५० करोड हाराहारी लगानी भएको जनाउँदै उनले सो लगानी धारासायी बनाउन लागिएको गुनासो गरे । ती क्याम्पस बैंकको ऋणमा रहेकाले धारासायी हुँदै गर्दा बैंकसहित आम नागरिक प्रभावित हुने बताइएको छ । पूर्वाञ्चलका मात्रै स्वास्थ्य स्नातक पढाउने ३७ क्याम्पस छन् । सरकारको नीतिका कारण सीटीईभीटीबाट सम्बन्धन प्राप्त ९३ नर्सिङ कलेज बन्द हुन लागेका र १९ बीएससी नर्सिङ र बीएन कार्यक्रम रोकिएको उनको भनाइ छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले विद्यार्थी विदेश पठाउन षड्यन्त्र गरिएको आरोप लगाए । ‘बंगलादेश, भारतको बैंगलोर र देहरादुन विद्यार्थी पढाउने गिरोह सक्रिय भएको छ,’ उनले भने ।

सरकारले समयमै बुझ्न नसकेमा नेपालको शिक्षा क्षेत्र प्रभावित हुने उनको भनाइ छ । अहिले उत्तीर्ण भएका विद्यार्थीले केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी नपुग्ने उनले बताए । दक्ष जनशक्ति बाहिर पठाउने गरी चलखेल भएको उनको आरोप छ । नेपाल पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपल बाबुराम उपाध्यायले नेपाल प्राविधिक शिक्षामा अग्रणी भएको भन्दै राज्यले समयमै ध्यान दिनुपर्ने बताए ।

श्री मेडिकल एन्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले पुनः प्रवेश परीक्षा वा (पर्सेन्टायल) विद्यार्थीले प्राप्त गरेको अंकको आधारमा पढ्ने अवसर दिनुपर्ने बताए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले उत्तीर्ण भएका विद्यार्थीले मात्रै पढ्न पाउने र नीति-नियमअनुसार आयोगले काम गरेको बताए । उनले कोटा भएर पनि पढ्ने अवसर नपाउनेहरुका लागि के गर्ने भन्ने विषयमा आयोगले सोचेको छैन भनेका छन् ।

निजी क्याम्पस सञ्चालकले विदेश विद्यार्थी शैक्षिक माफियाको साँठगाँठमा आयोगले विद्यार्थी अनुत्तीर्ण गराएको आरोप लगाउँदै आएका छन् । -रासस

प्रतिक्रिया