शनिबार, असार १४, २०८२

मेलबर्नमा बढाइयो लकडाउन, सिड्नीमा मागियो सेनासँग मद्दत

नेपालखोज २०७८ साउन ३२ गते १९:५१

अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा कोरोनाका कारण बिग्रँदै गएको स्थिति सुधार्न सेनाको मद्दत लिइएको छ । कोरोनाको प्रसार नियन्त्रण गर्न अर्को ठूलो सहर मेलबर्नमा थप लकडाउनको घोषणा गरिएको छ ।

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । कोरोनाको तीव्र प्रसारलाई मध्यनजर गर्दै सिड्नीमा कडा प्रतिबन्धहरु लागु गरिएका छन् । आज सोमबार अस्ट्रेलियाका लागि थप खतरनाक सावित भयो किनभने सिड्नीमा बितेका चौबीस घण्टामा मात्र आठजनाको मृत्यु भएको छ । यो सिड्नीमा कोरोनाका कारण एकै दिनमा मर्ने उच्चतम् संख्या हो । सिड्नीमा सोमबार कोरोनाका ४७८ जना नयाँ बिमारी प्रमाणित भएका छन् ।

सिड्नीमा कोरोनाका कारण मृत्युवरण गर्नेहरुमा एक व्यक्ति ४० वर्षका तथा चारजना ८० वर्षका छन् । त्यसैगरी ७० वर्षका एक पुरुष र एक महिला पनि मृत्यु हुनेको सूचीमा सामेल छन् भने एक १५ वर्षीय किशोरको पनि कोरोनाको उपचारका क्रममा मृत्यु भएको छ ।

अहिले सिड्नीमा लकडाउनलाई कडाइका साथ लागु गर्न सेनाको मद्दत लिन थालिएको छ । मानिसहरुले लकडाउनको पूर्ण पालन गरून् भनेर सेनाका जवानहरुलाई सडकमा उतारिएको समाचारमा बताइएको छ ।

उता मेलबर्नमा लकडाउनको मिति १९ अगस्तसम्मका लागि बढाइएको छ । यसबीच राजधानी क्यानवेरासहित अस्ट्रेलियाका अन्य थुप्रै साना सहरहरु पनि कोरोनाको चपेटामा परि कडा प्रतिबन्ध झेल्न बाध्य भएका छन् ।

स्मरणरहोस् संसारमा अहिले कोरोना संक्रमितको संख्या बढेर २० करोड ७५ लाखको हाराहारीमा पुगिसकेको छ भने मर्नेहरुको संख्याले पनि ४३ लाख ६२ हजारको आँकडा पार गरेको छ ।

प्रतिक्रिया