शनिबार, असार १४, २०८२

अफगानिस्तानमा महिला ‘न्युज एंकर’ हटाइए

नेपालखोज २०७८ भदौ २ गते ११:०२

काबुल । अफगानिस्तानमा कब्जा गरेपछि तालिबानले महिला न्यूज एंकरहरुमाथि प्रतिबन्ध लगाएको छ । समाचारका अनुसार सरकारी न्युज च्यानलका महिला न्युज एंकरहरुलाई तालिबानले राेजगारीबाटै हटाएको हाे ।

अब तालिबानी एंकरहरुले टीभीमा समाचार पढ्ने छैनन् । खदिजा अमिना नामकी एक महिला सरकारी न्युज च्यानलमा एंकर थिइन् । अहिले उनको पनि राेजगारी गुमेकाे छ । एक दिन पहिले मात्र तालिबानले भनेको थियो कि- महिलाहरुको हितको रक्षा हुनेछ ।

तालिबानले व्यवहारमा भने सरियत कानुनअनुरुप नै महिलाहरुलाई काम गर्न नदिने संकेत दिएको छ । राेजगारीबाट निकालिएपछि न्युज एंकर खदिजा अमिना भन्छिन्- ‘म के गर्छुभन्दा पनि अब हाम्रो भावी पिँढीका लागि कुनै काम हुने छैन । हामीले बितेका २० वर्षमा जे हासिल गर्यौं, त्यो सबै फिर्ता जाँदै छ । तालिबान भनेका तालिबान हुन्, उनीहरु परिवर्तन भएका छैनन् । महिलाहरुप्रति भेदभाव हुनेछ ।’

एक दिन पहिले नै मंगलबार तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले प्रेस कन्फ्रेन्समा भनेका थिए- ‘अब अफगानिस्तानमुक्त भएको छ, पछिल्लो सरकारले महिलाहरु माथि कैयन् कडा प्रतिबन्धहरु थोपरेको थियो । अब हाम्रो शासनमा महिलाहरुप्रति भेदभाव हुने छैन । महिलाहरुलाई इस्लामिक कानुनअनुरुप अधिकार प्रदान गरिनेछ । महिलाहरुलाई स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा काम गर्ने स्वतन्त्रता रहनेछ ।’

२० वर्षपहिले अफगानिस्तानमा तालिबानी शासन छँदा अफगान महिलाहरुलाई घरको पर्खालभित्र सीमित गरिएको थियो । त्यतिबेला महिलाहरुको जीवन र अधिकारहरुमा कैयन् कडा प्रतिबन्ध लागु गरिएका थिए ।

प्रतिक्रिया