नेपाली कांग्रेस र लिगेसी !

नेपाली कांग्रेसको स्थापना बडो जटिल समयमा भएको थियो । जहाँनीया राणाशासन थियो । विधिको शासन थिएन । यस्तो परिस्थितिमा कांग्रेस स्थापना गरी जनप्रतिनिधिहरुको हातमा राष्ट्रलाई सुम्पनु र विधि-विधानले राज्य व्यवस्था चलाउनु नै मूल उद्देश्य र अभिष्टले संगठन स्थापना हुन थाल्यो । यसै क्रममा २००३ मा देवीप्रसाद सापकोटाको अध्यक्षतामा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको गठन र यस्तै नेपाली राष्ट्रिय कांग्रेस टंकप्रसाद आचार्यको सभापतित्वमा गठन भयो । त्यतिखेर टंकप्रसादको सभापतित्वमा गठन भएको कांग्रेस बीपी कोइराला कार्यकारी सभापति थिए । त्यस्तै पृष्ठभूमीमा त्यस्तै लक्ष्य राखी २००४ मा सुवर्णशमशेरले महेन्द्रविक्रम शाहको अध्यक्षतामा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गरे ।
अब यहाँनेर आएर २००६ मा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकताको घोषणा भयो । यो मूलत: बीपी कोइराला र सुवर्णशमशेरको सक्रियतामा भएको थियो । त्यो एकतापछि अहिले हामीले भन्ने गरेको नेपाली कांग्रेस र कांग्रेसको चारताराको ऐतिहासिक घोषणा सभापति मातृकाप्रसाद कोइराला र महेन्द्रविक्रम शाहले संयुक्त रुपमा घोषणा गरे जुन अहिलेसम्म छ ।
२००७ सालको सम्मेलनबाट क्रान्तिको घोषणा गरे जसको कमान्ड मातृकाप्रसाद कोइराला र त्यसलाई जीवन दिने बीपी कोइराला र सुवर्णशमशेर । अब २००९ सालतिर पाँचौं महाधिवेशनमा बीपी कोइराला नेपाली कांग्रेसको सभापति भए । त्यसपछि छैटौं महाधिवेशन २०१२ मा सुवर्णशमशेर नेपाली कांग्रेसको अध्यक्ष भए ।
२०१२ मा विशेष अधिवेशन विराटनगरमा भयो त्यसमा बीपी कोइराला पुन: सभापति भए । २०१६ सालमा काठमाडौंमा भएको सातौं महाअधिवेशनले पुन: बीपी कोइरालालाई नै सभापति चयन गर्यो । २०४८ सालतिर कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति झापाको महाधिवेशनले चुन्यो ।
२०५३ मा भएको नवौं महाधिवेशन र २०५७ मा भएका अधिवेशनवाट गिरिजाप्रसाद कोइराला सभापति भए भने एघारौ महाधिवेशन अर्थात् २०६२ मा पुन: गिरिजाप्रसाद कोइराला नै सभापति भए । गिरिजाप्रसाद कोइरालाको सभापतिपछि २०६७ मा कार्यवाहक सभापती सुशील कोइराला भए र अहिले शेरबहादुर देउवा सभापति छन् ।
नेपाली कांग्रेसले यहाँसम्म आइपुग्दा धेरै उतार-चढाव भोग्नुपर्यो र यो क्रममा सबैभन्दा संकटमय, जोखिम समयमा पार्टी सञ्चालन गर्नु र जीवन्त राखिराख्नु अर्को चुनौती थियो । त्यो चुनौती पूर्ण समयमा बीपीले नै नेपाली कांग्रेसको नेतृत्व गर्नुभएको देखिन्छ । नेपालको तत्कालीन राजनीतिक अवस्थालाई अन्तर्राष्ट्रियकरण गरेर जनमत कांग्रेसको पक्षमा पार्दै राष्ट्रमा स्थापित गराउनुभयो ।
विशेष गरेर २००७ को क्रान्तिको घोषणा गर्दा मातृका नेपाली कांग्रेसको सभापति भए पनि सञ्चालन बीपी कोइरालबाटै भएको थियो । यसपछि नेपालमा जति उपलब्धि भए ती सबै नेपाली कांग्रेसकै नेतृत्वमा भए । २०१४ को अधिवेशनपछि नेपाली कांग्रेसले आफ्नो उद्देश्य र अभिष्टमा सफलता प्राप्त गर्यो तर त्यो दीर्घकालसम्म रहन सकेन र २०१७ मा प्रतीगमन भयो ।
२०१७ देखि २०३९ सम्म बीपी कोइराला निरन्तर बहुदलको प्रचारमा जनमत बनाउन लागिरहनुभयो यही समयमा २०३३ तिर राष्ट्रिय मेलमिलाप भनेर जीवन दाउमा राखेर नेपाल प्रवेश गर्नुभयो २०३६ सालको विद्यार्थी आन्दोलन र त्यसपछि जनमत संग्रह । यहाँसम्म पुग्दा नेपाली कांग्रेस बीपीकै वरिपरि थियो । उनको अवसानपछि पनि एकछत्र अर्थात् २०५३ र २०६२ को अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति रहे । त्यसपछि पनि सुशील कोइराला २०६७ को अधिवेशनबाट सभापति भए ।
यसरी हेर्दा कांग्रेसमा सबैभन्दा बढी नेतृत्व कोइराला परिवारबाटै भयो । कोइराला परिवारबाटै कांग्रेस स्थापित भएको देखिन्छ । कांग्रेस भनेकै बीपी भनेर बुज्न थालिएको छ । कांग्रेस भनेकै कोइराला परिवारको बोध हुन्छ ।
कोइराला नै कांग्रेसको लिगेसी
यही कुराबाट होला कांग्रेसभित्र संस्थापन र इतर संस्थापनको कुरा उठ्छ । यहाँ पार्टी नेतृत्व कसको छ त्यसैलाई संस्थापन भन्ने गरिएको छ तर त्योभन्दा पनि कांग्रेसभित्र सधैंको संस्थापन कोइराला नै हुन् । अहिले लिगेसीको कुरा प्रखर रुपमा उठाइएको छ यो कुरा कोइराला परिवार भित्रैबाट पनि उठिरहेको छ । कांग्रेसभित्रै कोइरालासँग फरक बस्नेले पनि लिगेसीको कुरा उठाएका छन् ।
कोइराला लिगेसीको कुरा, लिगेसीको यो विचार यसरी आउनु फरक सोच भएकाले पनि स्थायी संस्थापन भनेकै कोइराला हुन् भन्ने प्रत्यक्ष-अप्रत्यक्ष स्वीकारेको देखिन्छ । अर्कोतर्फ केही समयपूर्व सुजाताको निवास महाराजगन्ज र विराटनगरमा सुजता फ़ाउन्डेसनको कार्यक्रममा तीन कोइराला एक ठाउँमा उभिएको उद्घोष गरे । यो पनि कोइरालाको लिगेसीलाई मजबुत बनाउन गरेको देखियो ।
एकातिर डा. शेखर कोइराला ‘राजनीतिमा/चुनावमा, लिगेसी नै अन्तिम हो’ यो कुरा मान्नुहुन्न । तर यसो भन्दै उहाँ आफैं यो लिगेसीको मन्चमा उभिएर हामी तीन कोइराला एक भयौं भन्नुहुन्छ । अर्कोतर्फ महामन्त्री डा. शशांक कोइराला पनि आफू सभापतिको उम्मेद्वार भएको उदघोष गरें, भन्दै दुवै कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालाई बोधार्थ दिएको रुपमा व्याख्या गर्न सकिने विषय भएको छ ।
यहाँनेर दुवै कोइराला सभापतिमा इच्छुक देखिन्छन् । दुवै कोइराला लिगेसीभित्रै पर्छन् । यस्तो अवस्थामा यी दुई कोइरालामध्ये लिगेसीमा पनि नजिकको लिगेसी अर्थात् नैसर्गिक लिगेसीमा डा. शशांकलाई लिन सकिने विधमान अवस्था डा. शेखरले ‘लिगेसी नै सबैथोक होइन लिगेसी नै अन्तिम होइन’ भन्दै कसले कति काम गरेको छ, कसलाई कार्यकर्ताले कति मनपराउँछन्, को कति संगठन विस्तारमा, को कति कार्यकर्तामाझमा प्रिय छ र रुचाउने कुराले भूमिका खेल्छ भन्छन् । उनको यो कुरा अर्का लिगेसी बोकेका महामन्त्री डा. शशांकप्रति त संकेत होइन । यो पनि भित्री अर्थ खोज्दै जाँदा यस्तो भेटिन्छ ।
लिगेसीको कुरा गर्दा नेपाली कांग्रेसमा बीपीपछि त्यो परिवारमा गिरिजाप्रसाद कोइराला र गिरिजाप्रसादपछि सुशील कोइराला । यसरी विरासतलाई त्यो परिवारले सम्हाल्दै आएको छ । लिगेसीभित्र पनि बीपी पुत्रमा त्यो लिगेसी आएन र यहाँ वंशवाद (बीपीपछि बीपी पुत्र) ले त्यो विरासतलाई निरन्तरता दिन सकेनन् र यहाँनेर क्रम भंग गर्दै गिरिजाप्रसाद कोइरालामा त्यो नेतृत्व हुँदै सुशील कोइरालासम्म आएर त्यो विरासतको अन्त भएको छ । गिरिजाप्रसादबाट बीपी पुस्ताको क्रम भंग भएको देखिएको हुँदा क्षमता, योग्यता र कार्य र जनप्रियताले गर्दा गिरिजाप्रसाद र सुशील पाटीमा नेतृत्वदायी भूमिकामा आएको हुँदा यही कुराको उदघाटन सायद डा. शेखरले ‘लिगेसी मात्रै सबै कुरा होइन, लिगेसी नै अन्तिम होइन’ भनेको हुन सक्छ । यसरी आफूलाइ गिरिजा र सुशीलसँग जोड्न खोजेको प्रतित हुन्छ । जुन कुरा कांग्रेसभित्र लिगेसीमा त उहाँ हुँदै हुनुहुन्छ । पार्टीमा जनबल, जनआधार पनि क्रमश: बढाउँदै जानुभएको छ । बनाउँदै जानुभएको छ र त्यो उहाँको भनाइको आधारभूमि सायद यही हुनसक्छ ।
प्रतिक्रिया