को-एजुकेसनविरुद्ध उर्दी, महिला शिक्षकबारे के भन्छ तालिबान ?
तालिबानका प्रतिनिधि मुल्ला फरिद भन्छन्- पुरुष र महिलालाई एक साथ पढाउने काम बन्द हुनुपर्छ ।

काबुल । तालिबानका प्रतिनिधि मुल्ला फरिदका अनुसार को-एजुकेसन समाजमा विद्यमान खराबीहरुको जड हो । उनले भनेका छन्- पुरुष र महिलालाई एक साथ पढाउने काम बन्द हुनुपर्छ ।
अफगानिस्तानमा महिलाहरुको अधिकारको सम्मान गरिने आश्वासन दिइएको केही दिनपछि नै तालिबानका आधिकारिक व्यक्तिले अशान्त हेरात प्रान्तमा सरकारी तथा निजी विश्वविद्यालयहरुमा पुरुष र महिलालाई एकसाथ पढ्न रोक लगाउँदै यसलाई समाजका तमाम खराबीहरुको जड बताएको छ । खामा प्रेस समाचार एजेन्सीका अनुसार विश्वविद्यालयका प्राध्यापक, निजी कलेजका मालिक तथा तालिबान अधिकारीहरुको बैठकपछि उक्त फैसला लिइएको हो । गत साता अफगानिस्तानको सत्ता कब्जा गरेपछि यो तालिबानीबानीहरुको पहलो निर्णय ‘फतवा’ हो ।
लामो समयदेखि तालिबानका प्रवक्ता रहँदै आएका जबिहउल्ला मुजाहिद गएको मंगलबार पहिलोपटक सार्वजनिक रूपमा प्रकट हुँदै तालिबानले इस्लामिक कानुनअन्तर्गत रहेर महिलाहरुको अधिकारको सम्मान गर्ने कुरा बताएका थिए । विश्वविद्यालयका प्रोफेसर तथा निजी शैक्षिक संस्थाका मालिकहरुका साथ तीन घण्टा चलेको बैठकमा तालिबानका प्रतिनिधि तथा अफगानिस्तानका उच्च शिक्षा प्रमुख मुल्ला फरिदले भने कि- अरु कुनै विकल्प छैन, युवा-युवतीहरुलाई एक साथ पढाउने काम बन्द हुनुपर्छ । उनले महिला आध्यापिकाहरुलाई केवल छात्राहरुलाई पढाउने अनुमति हुने कुरा बताउँदै उनीहरुले छात्रलाई पढाउन नपाउने पनि बताए । फरिदले बैठकमा सह-शिक्षालाई ‘समाजका सारा खराबीहरुको जड’ समेत बताएका थिए ।
शिक्षाविद्हरुका अनुसार सरकारी विश्वविद्यालहरुमा यो निर्णयको खासै असर पर्ने छैन । तर निजी कलेजहरुले यो निर्णयपछि थप संघर्ष गर्नुपर्नेछ । किनभने उनीहरु पहिलेदेखि नै छात्र-छात्राहरुको कमी झेलिरहेका छन् । अब महिलाहरुलाई भर्ना लिन नपाएपछि उनीहरुको समस्या अझ बढ्नेछ । आधिकारिक तथ्यांकअनुसार हेरातका निजी तथा सरकारी विश्वविद्यालय एवं कलेजहरुमा ४० हजार विद्यार्थी र दुई हजार प्राध्यापक छन् ।
-विभिन्न सञ्चारमाध्यमको सहयोगमा
तस्बिर : पीटीआई
प्रतिक्रिया