पर्यटक आउन थालेपछि खुसी भए हुम्ली

सिमकोट । पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गर्दै स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १ सय ७ विदेशी पर्यटक तथा स्वदेशी पयर्टक समेत हुम्ला पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।
दुई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका कोरोना संक्रमणको त्रासका कारण बन्द गरेको भए पनि नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाश भ्रमण तथा दर्शनका लागि विभिन्न देशका पर्यटक आउन थालेका हुन् । पछिल्लोपटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरुको टोलीसमेत हुम्ला आउने भएपछि होटल व्यवसायीमा आशा पलाएको छ । एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएका होटल व्यवसाय ओरालो लागेका बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटक आउन थालेपछि व्यवसायले पुनःजीवन पाउने आशामा व्यवसायी खुसी भएका छन् ।
पर्यटन व्यवसायी याङ्की लामाले पहिलोपटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेपछि होटल व्यवसायीमा आशा पलाएको बताउनुभयो । दुई सिजनसम्म बन्द भएका होटल सञ्चालनमा आउन थालेको जनाउँदै उहाँले व्यवसायीमा उत्साह छाउन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
यता १ सय ७ विदेशी पर्यटक भने काठमाडौँबाट हेलिकोप्टरमार्फत सिधै सिमकोट आइपुगेका छन् । ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार टोलीमा कुक, गाइड र आवश्यक सामग्री सबै छन् ।
हुम्ला पुग्ने पर्यटकलाई कोरोनाका कारण होटलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित तल्लो बजारमा रहेको खेलमैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको छ ।दुई वर्ष अगाडिसम्म सिमकोटमा पर्यटक लक्षित गरेर स्थापना भएका १३ वटा होटललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकलाई व्यवस्थापन गर्न हम्मे पर्ने गरेको थियो ।
होटल संघका अध्यक्ष मिम लामाले कोरोनाको अवधिमा सुस्ताएका होटेल व्यवसायी अब पुनः पर्यटकको आगमन सुरु भएसँगै उत्साहित भएको बताउनुभयो ।आगामी असोजसम्म लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएका कारण भारतबाट धेरै धार्मिक पर्यटकले सम्पर्क गरिरहेको पर्यटन व्यवसायी विजय लामाले बताएका छन् ।
प्रतिक्रिया