शनिबार, वैशाख १३, २०८२

१४ औँ स्वयंसेवी रक्तदाता दिवस सम्पन्न

नेपालखोज २०७६ माघ १५ गते १५:५७

काठमाडौँ । नेपाल स्वयंसेवी रक्तदाता समाजकोे १४ औँ स्वयंसेवी रक्तदाता दिवस सम्पन्न भएको छ । दिवसका अवसरमा काठमाडौँमा आज रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित हुनुभएको थियो । सो क्रममा उनले कार्यक्रमलाई सम्बोधन गर्दै रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा उनले भने, “दाताले रगत दिइरहने तर पीडितले पैसा तिरेर मात्रै रगत लिनुपर्ने अन्तरविरोधको समाधान छिटोभन्दा छिटो    हुनुपर्दछ ।” अध्यक्ष दाहालले नेकपाको अध्यक्ष र सरकारको नेतृत्व गर्ने पार्टी नेताको हैसियतमा अन्तरविरोध समाधान गर्न आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जीवनको आधार नै रगत हो भन्दै रगतलाई सर्वसुलभ र सहज कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल रेडक्रम सोसाइटीका केन्द्रीय महामन्त्री देवरत्न धाख्वाले कुनै पनि ठाउँमा रगत उत्पादन गर्ने कुरा नभइ मान्छेले नै मान्छेलाई दिनुपर्ने हुँदा रगत दानका लागि सर्वसाधारणमा चेतना र प्रोत्साहन जरुरी रहेको बताए ।

यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले निशुल्क रुपमा स्वयंमसेवकले दिएको रगतमापनि विरामिको ढाड सेक्ने गरि सरकारले रकम असुल गरेको आरोप लगाए । उनले रगत व्यवस्थापन र वितरणमा सरकारले खेल्नुपर्ने भुमिका महत्वपुर्ण भएपनि यसलाई हल्का रुपमा लिएको बताए । निशुल्क संकलन गरिएको रगत विरामीले समेत निशुल्क पाउने वातावरण सृजना गर्न सरकारसँग उनको माग थियो ।

उनले भने, “निशुल्क जम्मा गरेको रगतमा राजनीति र आर्थिक चलखेल कदापी हुनुहुँदैन । आवश्यकता अनुसार रगत पाउने मानिसको नैशर्गिक अधिकार हो । यसलाई कुनैपनि योजना लागु गरेर सरकारले पुरा गर्नै पर्छ ।”

कार्यक्रममा थालेसिमिया समाजका अध्यक्ष दुर्गा पाठकले रगत र थालेसिमियाका बिरामीको सम्बन्ध नङ र मासुको जस्तै रहेको उल्लेख गरे।

सोही अवसरमा नेकपाका अध्यक्ष दाहालले १० जना रक्तदातालाई कदरपत्रद्वारा सम्मान गर्नुका साथै समाजले प्रकाशन गरेको ‘हाम्रो रगत पुस्तक’को लोकार्पण समेत गरे ।

प्रतिक्रिया