सोमबार, वैशाख १५, २०८२

सन् २०२२ सम्म पनि जारी रहनेछ कोरोना महामारी

नेपालखोज २०७८ भदौ २६ गते १४:१८

काठमाडौं । कोरोना भाइरसको महामारी लगातार तेस्रो वर्ष अर्थात् सन् २०२२ मा पनि जारी रहनेछ । यसले ठूलो संख्यामा मानिसहरुलाई संक्रमित गरिरहनेछ । यो अनुमान युनिभर्सिटी अफ वासिंटन मेडिसिनको हेल्थ रिचर्स सेन्टर इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युएसन (आईएचएमई) को हो । आईएचएमईका निर्देशक क्रिस्टोफर जेएल मरेले आफ्नो एउटा नयाँ आकलनमा भनेका छन, ‘यदि हामीले वर्ष २०२१ लाई राम्रोसँग हेर्‍यौं भने धेरै कुराले के स्पष्ट पार्छन् भने आउने वर्ष पनि कोभिड-१९ को दुस्प्रभाव कायमै रहनेछ । साथै यसको संक्रमण दर पनि चिन्ताको विषय बन्नेछ ।’

अनुमान गरिएअनुसार, विश्वको लगभग ३५ प्रतिशत जनसंख्याले सन् २०२१ को अन्त्यसम्ममा खोपको दुवै डोज पाइसक्नेछ । प्राकृतिक सामर्थ्यका साथ-साथै खोपबाट प्राप्त प्रतिरक्षाका कारण संसारको आधाजस्तो जनसंख्या अत्यधिक संक्रामक डेल्टा भेरियन्टबाट धेरै हदसम्म सुरक्षित रहनेछ ।

क्रिस्टोफर भन्छन्, ‘सन् २०२२ को अन्त्यसम्म आधा संसार डेल्टा भेरियन्टको जोखिममा रहनेछ । यस क्रममा कुनै नयाँ भेरियन्ट देखा परेन भने पनि संसारभर कोरोनाको संक्रमणचाहिँ जारी रहने आशंका छ ।

आईएचएमईको अनुमानअनुसार, ‘तेस्रो वर्ष करिब चार महिना कोरोना संक्रमण दर उच्च रहनेछ । पूर्वानुमानअनुसार अन्तर्राष्ट्रिय स्तरमा डिसेम्बर २०२१ मा कोरोना संक्रमणको दर फेरि उकालो लाग्नेछ । यसको संक्रमण बढेर प्रतिदिन सरदर ५० लाखभन्दा माथि पुग्न सक्छ । त्यस क्रममा संसारभर दैनिक सरदर मृत्यु ८ देखि १० हजार रहन सक्छ । आईएचएमईको अनुमानअनुसार खोप अभियान र प्राकृतिक सुरक्षाका बाबजुद कोभिड-१९ को विस्तार जारी रहनेछ ।

क्रिस्टोफरको चिन्ताको कारण कोरोनाविरुद्धको खोपलाई लिएर पनि छ । हाल उपलब्ध खोपहरु क्षति कम गर्ने कुरामा प्रभावित देखिएका छन् । तर संक्रमणलाई पूरै रोक्न खोप मात्र पर्याप्त साबित हुन सकिरहेको छैन ।

क्रिस्टोफर भन्छन्, ‘खोपको उद्देश्य अस्पतालमा सिकिस्त बिमारी पुग्न रोक्नु र मृत्युदर कम गर्नुजस्तो भएको छ । अब संसारलाई संक्रमणलाई पूर्णत: रोक्ने प्रभावकारी उपाय चाहिएको छ ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया