२० वर्ष पुरानो घटनालाई कसरी हेर्छन् अमेरिकी ?
अमेरिकामा आज ९/११ को भयानक घटना स्मरण गर्दै पेट्रियाट दिवस मनाइन्छ । अमेरिकीहरुले आज पनि ९/११ को उक्त घटना बिर्सन सकेका छैनन् र सम्भवतः बिर्सने पनि छैनन् ।

काठमाडौं । सेप्टेम्बर ११ लाई बितेका २० वर्षदेखि अमेरिकामा भएको भयानक आतंककारी आक्रमणको दिनका रुपमा सम्झना गरिँदै आएको छ । आजको यही दिन अमेरिकामा चारवटा यात्रुवाहक विमान अपहरण गरिए र तिनै विमान प्रयोग गर्दै वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनका भवनहरु नष्ट गर्ने प्रयास गरियो ।
उक्त घटनामा करिब तीन हजार मानिस मारिए । २५ हजार घाइते भए भने करिब १० अर्ब डलरबराबरको सम्पत्ति नष्ट भयो । यो घटनाले अमेरिकासहित पूरै विश्व व्यवस्थामा ठूलो परिवर्तन ल्याइदियो । हालै गरिएको एक सर्भेक्षणअनुसार अधिकांश अमेरिकी आज पनि उक्त घटनालाई एउटा ठूलो दुखद घटनाका रुपमा स्मरण गर्छन् ।
के भएको थियो अमेरिकामा त्यो दिन ?
सन् २००१ को आजकै दिन अमेरिकामा चारवटा यात्रुवाहक व्यावसायिक हवाई जहाज अलकायदाद्वारा अपहरण गरिए । तीमध्ये दुई हवाई जहाजलाई न्युयोर्कको म्यानहटनस्थित वर्ल्ड ट्रेड सेन्टरका दुईवटा टावरमा ठोक्काएर ती भवन र यात्रुसहितको जहाज नष्ट गरियो । तेस्रो विमान पेन्टागनको भवनमा गएर ठोक्कियो जसमा आंशिक क्षति भयो भने चौथो विमान पेन्सिलभेनियामा क्र्यास भयो ।
मानिसहरुलाई सम्झना छ, त्यतिबेला उनीहरु के गरिरहेका थिए ?
हालै गरिएको सर्वेक्षणअनुसार ३० वर्षमाथिका ९३ प्रतिशत अमेरिकीलाई राम्रोसँग सम्झना छ कि जब त्यो आतंककारी हमला भयो तब उनीहरु कहाँ के गरिरहेका थिए ? बितेका ६ दशकमा केवल अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याको नै यस्तो गहिरो र दीर्घकालीन असर परेको थियो ।
जीवन नै परिवर्तन गरिदियो यो घटनाले
अमेरिकामा तालिबानको पुनरागमनभन्दा केही पहिले यो घटनामा आधारित भएर एउटा सर्वेक्षण गरियो । जसमा ६४ प्रतिशत अमेरिकीले के स्वीकार गरे भने नाइन इलेभेनको उक्त घटनाले उनीहरुको जीवनमा सधैंका लागि परिवर्तन ल्याइदियो । प्रमुख परिवर्तनका रुपमा के देखियो भने अमेरिकीहरु हवाई यात्रा गर्न, ठूला समारोहहरुमा सहभागी हुन, अग्ला भवनहरुमा जान तथा विदेश यात्रा गर्न कम रुचि देखाउन थालेका छन् ।
जीवनकै सबैभन्दा ठूलो र ऐतिहासिक घटना
सन् २०१६ मा तीनचौथाइ वयस्क अमेरिकीले ९/११ लाई उनीहरुको जीवनको सबैभन्दा ठूलो ऐतिहासिक घटना बताएका थिए भने कतिपयले यसलाई सबैभन्दा चर्चित घटना बताएका थिए । त्यो भनाइ वा भावनामा बितेका पाँच वर्षमा खासै परिवर्तन आएको छैन ।
इस्लामबारे के भन्छन् अमेरिकीहरु ?
थुप्रै अमेरिकीहरु के मान्छन् भने इस्लाममा पनि ठूलो परिवर्तन आएको छ । २५ प्रतिशत अमेरिकी, जसमा २३ प्रतिशत डेमोक्रेट्स र ३२ प्रतिशत रिपब्लिक सामेल छन् । उनीहरु के मान्छन् भने इस्लामले अरु धर्मको तुलनामा, आफ्ना अनुयायीहरुलाई हिंसाका लागि निकै बढी प्रोत्साहित गर्दै आएको छ ।
यस्तो धारणा बनाउने अमेरिकीहरु दुई दशक पहिलेको तुलनामा दोब्बर भएका छन् । ७२ प्रतिशत रिपब्लिक र ३२ प्रतिशत डेमोक्रेट्स अहिले इस्लाम र हिंसाबीच गहिरो सम्बन्ध देख्छन् । रिपब्लिकन्सहरुमा यस्तो धारणा बनाउने क्रम ४० प्रतिशतले बढेको छ ।
जर्ज डब्ल्यू बुसको नेतृत्वमा अमेरिकाले ९/११ को हमलाको जवाफमा आतंकविरुद्धको युद्ध सुरु गरेको थियो । त्यसको सुरुवात अफगानिस्तानबाट भएको थियो । अलकायदा यो हमलाको मुख्य निशानामा थियो । आतंक फैलाइरहेका मुस्लिम चरमपन्थीहरुविरुद्धको सैन्य अभियानमा अमेरिकी जनताले पूरा समर्थन दिए । यद्यपि युद्ध अपेक्षाभन्दा लामो हुन थालेपछि त्यस्तो समर्थन कम हुँदै गयो । सन् २०११ मा ९/११ का मुख्य अभियुक्त ओसामा बिन लादेन मारिएपछि ५६ प्रतिशत अमेरिकी नागरिक अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिनुपर्ने पक्षमा थिए ।
यद्यपि यो वर्ष स्थितिमा पूरै परिवर्तन आएको छ । अमेरिका अफगानिस्तानबाट पूरै फिर्ता भएको छ भने त्यहाँ चरमपन्थी तालिवानले कब्जा जमाएको छ । १२ वर्षमा खोलो फर्कन्छ भने जस्तो एकपटक फेरि अमेरिकी मिसन असफल भएको छ । मुस्लिम चरमपन्थीहरुको हौसला बुलन्द छ ।
यस्तोमा आम विश्व समुदाय के हेरी र सोचिरहेको छ भने अबका दिन संसार कसरी अघि बढछ ? के विश्वमा मुस्लिम चरमपन्थीहरुको प्रभाव र हिंसा अझ वृद्धि हुन्छ ? आजको दिन अर्थात् नाइन इलेभेनले यो प्रश्नलाई अझ टड्कारो बनाएको छ ।
प्रतिक्रिया