तालिबानले २० वर्षपछि पहिलोपटक गर्यो ९/११ हमलाको निन्दा
संसारको महाशक्ति अमेरिकाको मुटुमा ११ सेप्टेम्बर २००१ मा दुनियाँकै सबैभन्दा ठूलो आतंककारी हमला भएको थियो । आज २० वर्षपछि अफगानिस्तानको सत्तामा बसेको तालिबानले उक्त हमलाको निन्दा गर्दै आफ्नो छवि सुधार्ने प्रयास गरेको छ ।

काठमाडौं । अमेरिकाभन्दा ११ हजार १३० किलोमिटर टाढा भएको अफगानिस्तानमा तालिबानीहरु सत्तामा रहँदै ९/११ हमलाको योजना बुनिएको थियो । अनि उक्त घटनाको मुख्य जिम्मेवार अलकायदालाई संरक्षण दिएको आरोप तालिबानीहरुमाथि थियो । अमेरिकाले त्यही कुराको बदला लिन अफगानिस्तानमा तालिबानलाई सत्ताच्यूत गर्यो । आज २० वर्षपछि अमेरिका अफगानिस्तानबाट फर्किसकेको छ भने तालिबान त्यहाँको सत्तामा आएको छ ।
९ सेप्टेम्बर २००१ को बीसौं वार्षिकीका अवसरमा तालिबानले पहिलोपटक २० वर्षअघि भएको उक्त हमलाको निन्दा गरेको छ । अफगानिस्तानी विदेश मन्त्रालयका तर्फबाट जारी वक्तव्यमा जेहादका नाममा निर्दोषहरुको रगत बगाउनु गलत भएको कुरा बताइएको छ । यस क्रममा तालिबानका प्रवक्ता तारिक गजनीवालले अलकायदासँग तालिबानको कुनै सरोकार नभएको समेत बताएका छन् ।
किन बदलियो तालिबान ?
तालिबानको यो बदलिदो रुप पछि प्रश्न उठेको छ- के तालिबानको नीतिमा परिवर्तन आएको हो कि तालिबान आफू परिवर्तित भएको अभिनय गरिरहेको छ ? भनिन्छ अफगानिस्तानले अहिले जुन समस्याको सामना गरिरहेको छ त्यसले तालिबानलाई धेरै कुरामा ध्यान पुर्याउन बाध्य तुल्याएको छ ।
वास्तवमा अफगानिस्तान अहिले ठूलो आर्थिक संकटमा छ । अफगानिस्तानको अर्थव्यवस्था पहिलेदेखि नै खराब थियो र आधारभूत रुपमा विदेशी मद्दतमा निर्भर थियो । अफगानिस्तानको जीडीपीको ४० प्रतिशत हिस्सा विदेशी सहयोग- अनुदानबाटै पूरा हुन्थ्यो । अफगानिस्तानमा तालिबानको कब्जापछि ती सारा विदेशी सहयोगको ढोका बन्द भएको छ । विश्व बैंक र आईएमएफले पनि अफगानिस्तानलाई दिँदै आएको सहायता राशि रोकिसकेका छन् । अमेरिकाले दी अफगानिस्तान बैंकको नौ अर्ब डलरको विदेशी मुद्रा भण्डार फ्रिज गरेको छ ।
अहिले अफगानिस्तानका बैंकहरु बन्द छन र आमजनता नगदको अभावमा अनेकन समस्या झेलिरहेका छन् । त्यहाँ खानपिनका अत्यावश्यक सामग्रीको मूल्यले आकाश छुन थालेको छ ।
यही चरम आर्थिक समस्याका कारण अफगानिस्तानको तालिबान सरकार संसारले आफूलाई मान्यता देओस् र फेरि विदेशी सहयोग नियमित होस् भन्ने चाहन्छ । त्यसका लागि सबैभन्दा पहिले तालिबानले आफ्नो छवि सुधार्नुपर्नेछ । त्यसैले अहिले तालिवान संसारलाई आफू २० वर्ष पुरानो तालिबान नभएको र समयसँगै बदलिएको सन्देश दिने प्रयास गरिरहेको छ ।
यता बाँकी संसार तालिबानको कुरा तत्काल पत्याइहाल्न तयार छैन । चीन र पाकिस्तान तालिबानलाई सहयोग गरेर अफगानिस्तानमा दीर्घकालीन शान्ति स्थापना गर्नुपर्ने पक्षमा भए पनि बाँकी संसार अफगानिस्तानका सन्दर्भमा वेट एन्ड वाचको नीतिमा देखिएका छन् ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया