‘बुस्टर डोज’ कसलाई ? यसो भन्छन् विज्ञ !
अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले मेडिकल पत्रिकामा प्रकाशित गरेको एक लेखमा उल्लेख गरेअनुसार महामारीको यो चरणमा आममानिसलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज उपयुक्त छैन ।

काठमाडौं । कोभिड-१९ भ्याक्सिनको अतिरिक्त बुस्टर डोज आममानिसका लागि जरुरी छैन । यो अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको एउटा समूहको निष्कर्ष हो । मेडिकल पत्रिका लान्सेटमा प्रकाशित हालसालैको रिपोर्टअनुसार अधिक संक्रामक डेल्टा भेरियन्टको खतराका बाबजुद आम जनसंख्याका लागि महामारीको यो चरणमा बुस्टर डोज उपयुक्त छैन । वैज्ञानिकहरुको राय छ, ‘बुस्टर खुराकको आवश्यकताका सम्बन्धमा महामारी विज्ञान र क्लिनिकल दुवै पक्षको सावधानीपूर्वक विश्लेषण भएपछि मात्र निर्णय लिईनुपर्छ ।’
‘सबैलाई कोभिड भ्याक्सिनको बुस्टर डोज आवश्यक छैन’
मेडिकल पत्रिका लान्सेटको लेखमा विज्ञहरुले लेखेअनुसार बुस्टर डोजलाई तर्क संगत ठहर्याउन सबुत-प्रमाणहरुको आवश्यकता हुन्छ । वैज्ञानिकहरु लेख्छन्- अहिलेको भ्याक्सिन कोभिडको गम्भीर लक्षणमा पनि निकै प्रभावकारी छ । विश्व स्वास्थ्य संगठनकी एना मारिया भन्छिन्, ‘अहिलेसम्म भएका अनुसन्धानमा कोरोनाको खोप सिकिस्त बिमारीको सुरक्षामा कमजोर भएको विश्वसनीय प्रमाण उपलब्ध छैन, जुन खोपको प्रमुख लक्ष्य हो ।’ एनाका अनुसार भ्याक्सिन संसारभर प्राथमिकताका आधारमा लगाइनुपर्छ । यो खोप पहिले उनीहरुलाई दिनुपर्छ जसले अहिलेसम्म एक डोज पनि पाएका छैनन् । यो भ्याक्सिन प्राथमिकताका आधारमा ती ठाउँमा पठाइनुपर्छ जहाँ यसको आवश्यकता छ । यदि त्यस्तो हुन सक्यो नयाँ भेरियन्टहरु लाई परास्त गर्न मात्र होइन संसारभरबाट यो महामारीलाई बिदा गर्न पनि मद्दत मिल्नेछ । वैज्ञानिकहरुको यो दृष्टिकोण अमेरिकासहित अरु केही देशको योजनाविपरीत छ ।
‘आवश्यक भएकाहरुलाई मात्र दिइनुपर्छ बुस्टर डोज’
शोधकर्ताहरुले के स्वीकार गरेका छन् भने केही मानिसजस्तो कमजोर इम्युनिटी भएकाहरुलाई कोरोनाविरुद्धको भ्याक्सिनको अतिरिक्त डोजले फाइदा पुर्याउन सक्छ । अमेरिकामा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनलाई सल्लाह दिने विशेषज्ञहरुको प्यानलले १७ सेक्टेम्बर एक बैठक गरी फाइजर-बायोएनटेकको खोपको अतिरिक्त डोज आवश्यक छ कि छैन भनी छलफल गर्दै छ ।
स्मरण रहोस् विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको भ्याक्सिनको अतिरिक्त डोज अर्थात् तेस्रो डोजमा रोक लगाए पनि केही देशले डेल्टा भेरियन्टको भएका कारण अतिरिक्त डोज लगाउन थालिसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले गरिब देशमा भ्याक्सिन पुर्याउनु नै ठूलो चुनौतीका रुपमा खडा छ । त्यहाँ करोडौं मानिसले पहिलो डोज नै लगाउन पाएका छैनन् । लान्सेटमा प्रकाशित लेखमा भनिएको छ-अहिले भ्याक्सिनको समानुपातिक आपूर्तिबाट बढीभन्दा बढी जीवन बचाउन सकिन्छ । त्यसैले कोरोनाविरुद्धको भ्याक्सिनलाई सुरक्षित क्षेत्रमा प्रयोग गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया