मंगलबार, वैशाख १८, २०८१

संखुवासभा हत्याकाण्ड : थप चार जना अनुसन्धानमा तानिए

नेपालखोज २०७८ असोज ३ गते १०:३५

संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारका छ जनाको हत्याका विषयमा अनुसन्धान गर्न प्रहरीले थप चार जनालाई नियन्त्रणमा लिएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथि समेत प्रहरीले अनुसन्धान थालेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी एसपी जीवनराज राईका अनुसार मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला पारेपछि थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएकाहरूको प्रहरीले पहिचान भने खुलाएको छैन । ‘हामी अनुसन्धानका क्रममा छौं, केही नयाँ घटना खुल्यो भने सार्वजनिक गर्छौँ,’ एसपी राईले भने । हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । लोकबहादुरका भाइ नरेश समेत प्रहरी नियन्त्रणमा छन् ।

भदौ २१ गते बिहान लोकबहादुरले ६ जनाको हत्या गरेको स्विकार गरेका थिए । घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो ।

घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी सहित ६ जनाको टोली घटना स्थल पुगेर पुनः अनुसन्धान सुरु गरेको छ ।

छिमेकीले समेत घटनाको जानकारी नदिँदा प्रहरी अनुसन्धानमा जटिलता भएको थियो ।

प्रतिक्रिया