तालिबानले भन्यो- महिलाको जे काम हो त्यही गर

काबुल । अफगानिस्तानको तालिबानी सरकारले संसारलाई बारम्बार महिलाहरुविरुद्ध कुनै प्रकारको भेदभाव नहुने, नोकरी-पढाइजस्ता सबै कुरामा पुरुषसरह अधिकार दिइने भनेर आश्वस्त तुल्याए पनि उनीहरुको भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा पर्दै छ ।
तालिबानी अन्तरिम सरकारले एक महिनाभित्रै महिलाहरुको हुर्मत लिने अनेकन निर्णय गरिरहेको छ । सरकारले महिलाहरुको प्रगतिमा होइन कि उनीहरुको दमन र शोषण हुनेखालका फैसलामा आफ्नो कदम अघि बढाएको छ । जसका कारण महिलाहरु त्यसको विरोधमा ओर्लिरहेका छन् वा देश छाडेर भागिरहेका छन् । जस्तो तालिबानी शासनको डर महिलाहरुलाई थियो त्यो लगभग सत्य साबित हुन थालेको छ ।
तालिबानले वचन पूरा गरेन
-तालिबानले महिलाहरुलाई घरबाहिर काम गर्ने अनुमति दिएन ।
-विश्वविद्यालयमा उनीहरुले के लगाउने नियम जारी गरियो ।
-युनिभर्सिटीको क्लासरूममा छात्र र छात्राहरुबीच पर्दा लगाएर मात्र पढाउने नियम बनाइयो ।
-विद्यालय स्तरबाट को-एजुकेसन हटाइयो ।
अहिले तालिबान सरकारले एउटा नयाँ नियम जारी गरेको छ । जसले महिला मामिला हेर्ने मन्त्रालयमै महिला कर्मचारीहरुको प्रवेश प्रतिबन्धित गरेको छ । काबुलका कार्यवाहक मेयर हमदुल्ला नामोनी भन्छन्, ‘सुरुमा हामीले सबै महिला कर्मचारीलाई काम नछोड्न भन्यौं तर अहिले फेरि हामीले के फैसला गरेका छौं भने महिला कर्मचारीहरुले केही समयका लागि काम बन्द गर्नु नै उचित हुन्छ ।’
तालिबानको नयाँ आदेशमा के छ ?
-महिलाहरुलाई पुरुषहरुसँगै सरकारी कार्यालयमा काम गर्ने अनुमति छैन ।
-महिला मामिला हेर्ने मन्त्रालयमै महिला कर्मचारीहरुको प्रवेश निषेध छ ।
-अब त्यहाँ केवल पुरुषहरुले घरबाहिरको काम गर्न पाउनेछन् ।
महिलालाई बराबरको हक दिलाउन प्रतिबद्ध एनआरएफ
काबुल नगरपालिकामा करिब तीन हजार कर्मचारी थिए । जसमध्ये एक हजारजति महिला थिए । तालिबानको नयाँ आदेशपछि नेसनल रेजिस्टेन्स फ्रन्टले एक वक्तव्य जारी गर्दै त्यसको विरोध गरेको छ । एनआरएफले भनेको छ- माध्यमिक विद्यालयहरुमा छात्र र छात्रालाई एउटै कक्षामा नराख्ने निर्णय गलत छ । हामी नागरिकलाई शिक्षाको समान अधिकार दिलाउन निरन्तर लडिरहने छौं ।
सरकारका मन्त्रालयहरुको ढोका महिलाहरुका लागि बन्द गरिएपछि त्यसको विरोधमा महिलाहरु काबुलको सडकमा आए । यसबीच उनीहरुविरुद्व दमन मात्र भएन तालिबानी महिलाहरुको एक समूहले अफगान महिलाहरुलाई कुनै अधिकार आवश्यक नभएको र उनीहरु शरिया कानुनअनुरुप चल्न तयार भएको भन्दै नियोजित प्रदर्शनसमेत गरे ।
यता विरोध प्रदर्शनमा सहभागी महिला बसिरा तवाना भन्छिन्, ‘इस्लाममा महिलाहरुलाई धेरै अधिकार दिइएको छ तर उनीहरुले (तालिबान) हाम्रो अधिकार खोसिरहेका छन् । हामी महिलाहरुका लागि विद्यालयहरुको आवश्यकता छ । महिलाहरुले आफ्नो काममा फर्कन पाउनुपर्छ । हाम्रो अरु केही माग छैन । मात्र हामीलाई हाम्रो हक चाहिन्छ ।’
महिलाहरु मन्त्री बन्न सक्दैनन्
तालिबानी शासनमा महिलाहरुप्रति ठूलो भेदभाव मात्र होइन उनीहरुविरुद्ध अत्याचार नै हुन्छ भन्ने कुराको पुष्टि तालिबानको अन्तरिम सरकार गठनकै बेला भएको हो । जसमा एकजना पनि महिलालाई मन्त्रीमण्डलमा सहभागी गराइएन । यो विषयमा तालिबानका प्रवक्ताले सञ्चारमाध्यमहरुलाई जनाएअनुसार महिलाहरु मन्त्री बन्न सक्दैनन्, उनीहरुले बच्चा जन्माउने काम मात्र गरून् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया