अफगानिस्तानबाट ६ लाखभन्दा बढी विस्थापित

काठमाडौं । यस वर्षमात्र अफगानिस्तानबाट ६ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका हुन् ।
उक्त निकायले तीमध्ये गएको महिना दिनमा मात्र कम्तीमा १२ हजार व्यक्ति विस्थापित भएर राजधानी काबुल आएका बताइएको छ । यसरी काबुल आएकाहरुमध्ये अधिकांश अफगानिस्तानको पञ्जसिरबाट आएका हुन् ।
ती व्यक्ति पछिल्लो समयमा अफगानिस्तानमा तालिबानहरुले शुरु गरेको सत्ता कब्जा र त्यसपछि त्यहाँका तालिबान र सेनाबीचको भिडन्तका कारण विस्थापित हुन पुगेका बताएको छ ।
उता शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले पनि हालैमात्र अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको थियो ।
उक्त संस्थाले त्यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि त्यहाँका तालिबानहरुसँग सम्पर्कमा रहेर नागरिकको अवस्थाको बारेमा जानकारी लिन र अत्यावश्यक परेको सहयोग लिनका लागि पनि आग्रह गरेको थियो ।
अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो रहेको र त्यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको पनि सो संस्थाले हालै एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको थियो । –रासस
प्रतिक्रिया