आइतबार, असार १५, २०८२

दिल्लीस्थित एक अदालतमा गोली चल्दा ग्याङ्गस्टार गोगीसहित चारको मृत्यु

नेपालखोज २०७८ असोज ८ गते २०:५५

दिल्ली । भारतका ‘चर्चित ग्याङ्गस्टार’ जितेन्द्र मान गोगीलाई अदालतमा पेस गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका एक अधिकारीले बताए । आक्रमणकारी वकिलको भेषमा आई एक्कासी गोगीलाई लक्षित गरेर गोली चलाएका थिए । घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेस परेपछि रोहिणी अदालत ल्याइएको थियो । गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ ।

उनकोसञ्जालमा ५० भन्दा बढी व्यक्ति रहेका र उनीहरूले मानिसहरूलाई धम्क्याउने, चन्दा संकलन गर्ने र आतङ्कित पार्नेजस्ता अवाञ्छित क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया