मंगलबार, वैशाख १८, २०८१

प्रेमको जगमा उभिएको साईयोग

कृष्ण कॅंडेल २०७८ असोज ९ गते १३:०८


भनिन्छ विज्ञानको सीमा जहाँ टुंगिन्छ त्यहाँबाट आध्यात्म शुरू हुन्छ । धर्म र आध्यात्म एउटै सिक्काका दुईपाटा हुन् तर धर्मबाट माथि उठ्न सके मात्र आध्यात्मिक संसारमा विचरण गर्न सकिन्छ ।

आध्यात्मिकताको आधारशिला विश्व प्रेम हो । द्वेष, ईर्स्या, भेदभाव लत्याएर नि:स्वार्थ प्रेमको जगमा यो खडा भएको हुन्छ । आध्यात्मिकतामा जातपातको कुरा हुँदैन ,यहाँ कोही धनी हुँदैन, न कोही गरिब नै, सबैमा समभाव राख्दछ ।

अमर बहादुर कार्की ले साई बाबासँग साक्षात्कार र अनुभवको संगालो -साईयोग २ मा लेख्नुभएको छ- अहंकार, भगवान र मानिसबीच तगारोको रूपमा रहेको हुन्छ । यो पूर्ण रूपमा क्षय नहुन्जेल हामी भगवानसम्म पुग्न सक्दैनौ‌ । सांसारिक जीवन गतिशील हुन्छ रजोगुणले भरिपूर्ण । जव व्यक्ति आध्यात्म मार्गमा अग्रसर हुन्छ तव आध्यात्मिक साधनाले जीवनको गति क्षीण पार्ने काम गर्दछ र शून्यतर्फ डोर्याउॅंछ।”

हामी एक्काईसौं शताब्दीको वैज्ञानिक युगमा छौं अहिलेको पुस्ताले सहज रूपमा ईश्वरको अस्तित्व स्विकार गर्न सकिरहेको छैन । र पूर्णत नकार्न पनि सक्दैन । ईश्वरका नाममा हुने कुसंस्कारका विरूद्ध वर्तमान पुस्ता चट्टान झैं उभिन्छ ।

पृथ्वी र मान्छेको उत्पत्ति सँगसँगैको यो यक्ष प्रश्न आज पनि ज्यूँका त्युँ छ के भगवान छन् ? ईश्वरको अस्तित्व स्विकार या अस्विकार गर्ने कुरा आ-आफ्नो विस्वासको कुरा हो । ईश्वरको अस्तित्वप्रति शंका उपशंका भइरहँदा लेखक आफैसँग प्रतिप्रश्न गर्छन् -“संसारमा विज्ञान र प्रविधिका क्षेत्रमा अकल्पनीय विकास भएको छ । के यस्ता वैज्ञानिकले वनाएको पंखाले प्रकृतिको हावासँग, धाराको पानीले नदीसँग र बिजुलीकाे बल्वले सूर्यसँग प्रतिस्पर्धा गर्न सक्छ ? कसले बनायो यस्तो शक्तिशाली प्रकृति जो कसैको हस्तक्षेप विना नै स्वचालित छ “?

ईश्वरीय अस्तित्वको वारेमा विश्वप्रसिद्ध वैज्ञानिकहरू के भन्छन् त ? ”जति म विज्ञानको अध्ययन गर्छु त्यति बढ्ता म भगवानको अस्तित्वमा विश्वास गर्छु “-अलवर्ट आईन्सटाईन । आईन्सटाईनको विचारसँग सहमत हुँदै लर्ड विलियम केल्मिक भन्छन् “ यदि तपाईं विज्ञानको अध्ययन गहिरो तरिकाले गर्नुभयो भने भगवानको अस्तित्व स्विकार्नै पर्छ “यस सम्वन्धमा लुई पास्चर भन्छन् “ विज्ञानको थोरै ज्ञानले तपाईंलाई भगवानबाट टाढा लैजान्छ तर धेरै ज्ञानले भगवानसम्म पुर्याऊँछ ।”

धर्म वा सम्प्रदायले भगवान मन्दिरमा मात्र देख्छ । त्यसैले हामी भगवान खोज्न मन्दिर जान्छौं । तर अध्यात्मले भगवान सर्वत्र देख्छ कण कणमा देख्छ ।

पुस्तकमा चर्चा गरिएको छ -विज्ञानले विकास गर्यो कि विनास ?
•स्वास्थ्य क्षेत्रमा प्रशस्त विकास भएको छ, स्वचालित यन्त्रवाट शल्यक्रिया हुन थालेको छ तर मानिसको स्वास्थ्य अवस्था खस्किँदो छ ।
•आर्थिक विकासले मानिसको आय वढाएको छ तर मनको शान्ति घट्दो छ ।
•धेरै डिग्री लिने होडवाजी चलेको छ तर सामान्य ज्ञानको अवस्था भने खस्कँदो छ ।
•ठूलो घर र एकभन्दा बढी गाडी छन् तर परिवार टुक्रँदो छ ।
•सामाजिक सन्जालमा थुप्रै साथीहरू छन् तर शुभचिन्तक मिलनसार साथी भेट्न मुस्किल छ ।
•आरामदायक पल‌‌ग र ओछ्यान छ तर निन्द्रा छैन ।
•महंगो घडी हातमा छ तर कामको चाप यति छ कि हामीसँग समय छैन ।
अन्तरिक्ष र चन्द्रमाको भ्रमण सामान्य हुन थालेको वर्तमान विश्वमा जन्म, विध्या, संपत्ति, कर्म र मृत्युमाथि कसैको नियन्त्रण छैन, विज्ञानले अझै पत्ता लगाउन नसकेको यो रहस्यका वारे लेखक अमर वहादुर कार्कीले साईयोग नामक पुस्तकमा दावी गर्छन् -ईश्वरीय चमत्कारविना पात पनि हल्लिन सक्दैन “।

लेखकले पुस्तकको अन्त्यमा वडो कलात्मक ढंगले ईश्वर र मानिसको सम्वन्ध एवम् भगवान कृपाको बारेमा लेख्छन् – यस संसारमा हामी प्रर्यटकका रूपमा आएका हुन्छौं, भगवान ट्राभल एजेन्ट समान हुनुहुन्छ । यात्रा गर्ने सवै बाटो, यातायातका साधन, वास बस्ने स्थान आदि ट्राभल एजेन्टद्वारा पूर्वनिर्धारित गरिएको हुन्छ ।

विभिन्न धर्म र संप्रदायबीच भएको द्वन्द्व /लडाई पछि ति धर्म र सम्प्रदाय छिन्नभिन्न भएर विभिन्न खेमामा वाँडिएका ईतिहासदेखि वर्तमान सम्मको ईतिवृतान्त छ यो पुस्तकमा । लेखकले वडो मिहीन ढंगले अध्ययन र अनुसन्धानको उदाहरण पेस गर्दै धर्म भन्दा आध्यात्मिक यात्राले सम्पूर्ण मानवताको रक्षा गर्न सक्छ भन्ने निचोडमा पुगेको सगर्व घोषणा गरेका छन् ।

आध्यात्मले मानवताको वकालत गर्ने र वैज्ञानिक समाजवाद भन्दा आध्यात्मिक समाजवाद अझ एक कदम अगाडि भएको उदाहरण प्रस्तुत गरेर सवैलाई एकपटक यो बहसमा विचरण गर्न प्रेमिल आह्वान गरेका छन् । यो पुस्तक द्वन्दात्मक भौतिकवाद र आध्यात्मिक समाजवादको कडी हो भन्दा अतिसयुक्ति नहोला ।

प्रतिक्रिया