पितृसत्ताविरुद्धको सशक्त आवाज : कमला भासिन
भासिनले पाकिस्तानी अगुवा माहिला निखतसँग सहकार्य गरेर नारीवादी आन्दोलनको एक नारा बनाएकी थिइन् ।

काठमाडौं । कमला भासिन समाजशास्त्र पढ्ने विद्यार्थीहरूबीच धेरै नै परिचित नाम हो । उनले लैंगिक अवधारणामा लेखेको पुस्तक नेपालमा समेत स्नात्तकोत्तर तहको लागि सन्दर्भ सामग्री बनाउने गरिएको छ । महिलावादी भासिन संसारका धेरै महिला अगुवाहरूको प्रेरणाको स्रोत पनि हुन् । उनले गीत र आमूल नारीवादी धारबाट भारतका महिलालाई पितृसत्ताविरुद्ध सशक्त आन्दोलन गर्न उक्साएकी थिइन् ।
दक्षिण एसियामा आफूले तय गरेको नारा, गीत र अकाट्य तर्कबाट उनले नारीवादी आन्दोलनलाई खरो रूपमा अघि बढाएकी थिइन् । उनी प्रसिद्ध लेखिका एवं नारीवादी आन्दोलनकी अगुवा थिइन् । दक्षिण एसियाका महिलालाई आफ्नो अधिकारका लागि लड्न उक्साने कमला भासिन ७६ वर्षको उमेरमा गत शनिबार बिहान संसारबाट अस्ताएकी छन् । उनीप्रति हार्दिक श्रद्धासुमन !
भासिनकै सहयोद्धा नारीवादी अगुवा कविता श्रीवास्तवका अनुसार संसार छाड्ने अन्तिम दिन पनि भासिनले आफ्ना गीत र कविता सामाजिक सन्जालमा राखेर मानिसहरूलाई ऊर्जा दिइरहेकी थिइन् । अभिनेत्री सबना आजमीले ट्विट गर्दै भासिन जीवित हुँदा र स्वर्गारोहण भएर जाँदा पनि अजेय भएको जनाएकी छन् ।
भासिनको काम गराइ र बोलाइमा कुनै विरोधाभास नभएको उनले जनाएकी छन् । सञ्चार विशेषज्ञ नलक गुणवद्र्धनेले दक्षिण एसियाकै प्रकाशको किरण भासिन संसारबाट बिदा हुँदा दुःख लागेको जनाएका छन् । उनले भासिनका शब्दहरू प्रेरणादायक भएको उल्लेख गरेका छन् ।
भासिनलाई तीन महिनाअघि मात्रै लिभर क्यान्सर भएको चिकित्सकले जनाएका थिए । जीवनको अन्तिम दौडमा उनले कहिल्यै हार मानिनन् । पटकपटक अस्पतालमा भर्ना भएपछि पनि उनले महिला हकअधिकारका कविता र गीत लेख्न छाड्दै छाडिनन् । उनी अस्पतालमा बेडमा रहेका बेला पनि वल्लोपल्लो बेडको बिरामीलाई हसाउँदै सान्त्वना दिने गर्थिन् ।
उनको महिलावादी आन्दोलनको ऊर्जा तथा सिद्धान्त दक्षिण एसियाका महिला अगुवाका लागि सिकोको विषय भएको छ ।
भासिनले दक्षिण एसियाको नारीवादी आन्दोलनलाई एक उचाइसम्म पुर्याउन प्रमुख भूमिका खेलेकी थिइन् । उनले आफ्नो गीत, सरल भाषा र सरल स्वाभावले नै आफ्नो विचारलाई आम-जनसमुदायसम्म पुर्याएकी थिइन् ।
भासिनले ग्रामीण महिलादेखि लिएर महानगरीय संस्कारमा रहेका महिलालाई एक सूत्रमा बाँध्ने प्रयास गरिन् । उनी भारतीय नारीवादी आन्दोलनलाई संगठित स्वरूप दिन जुटिरहिन् । उनले महिलासम्बन्धी जुनसुकै अप्ठ्यारो समस्याको पनि सहज किसिमले सकारात्मक ढंगले समाधान गर्ने उनमा क्षमता रहेको थियो । लामो समयदेखि भासिनसँग संगत गरेकी कविता श्रीवास्तव नारीवादी आन्दोलनमा उनको भूमिकाको बयान गर्दै भन्छिन्, ‘कमला भासिनले भारतमा धेरै दिदीबहिनीसँग मिलेर महिला आन्दोलन स्थापित गर्न पायोनिर (अग्रगामी) भूमिका खेलेकी छिन् ।’
भासिनले संसदमा महिला अधिकार कानुन सुनिश्चित गर्न सशक्त दबाब दिएकी थिइन् । उनले कानुन संशोधन गर्न दबाब दिएर बलात्कारीलाई कडा कानुनी व्यवस्था गर्न भूमिका खेलिन् । यस्तै दाइजोका नाममा हुने हत्या र हिंसाविरुद्ध पनि उनले कानुन बन्ने गरी आन्दोलन गरेकी थिइन् । भासिन ४५ वर्षदेखि महिला आन्दोलनकी सशक्त योद्धा थिइन् । आफ्नो अन्तिम अवस्थासम्म पनि उनले महिला आन्दोलन र महिला अधिकारको रक्षाका लागि भूमिका खेलिरहिन् । उनले मानवअधिकारको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
कमला भासिन भारतमा मात्रै नभई दक्षिण एसियामै नारीवादी आन्दोलनको धुरी थिइन् । उनले बंगलादेश र पाकिस्तानमा पनि हकअधिकारको लागि लड्न महिलालाई उक्साएकी थिइन् । उनको महिलावादी आन्दोलनको ऊर्जा तथा सिद्धान्त दक्षिण एसियाली महिला अगुवाका लागि सिकोको विषय भएको छ ।
भासिनले पाकिस्तानी अगुवा माहिला निखतसँग सहकार्य गरेर नारीवादी आन्दलोलनको एक नारा बनाएकी थिइन् । ‘मेरी बहनें मांगे आजÞादी, मेरी बेटी मांगे आजÞादी, मेरी अम्मी मांगे आजÞादी, भूख से मांगे आजÞादी…’ शीर्षकको नारा दक्षिण एसियाली नारावादी आन्दोलनको लागि मागदर्शक बन्यो । भासिनले फाँसीवाद, मनोवाद र जातिवादले जरा गाडिएको दक्षिण एसियामा महिला स्वतन्त्रताको पक्षमा सशक्त आवाज उठाएकी थिइन् ।
पितृसतात्मक परिवारविरुद्ध खरो रूपमा उत्रिएकी भासिनले भारतका विभिन्न राज्यका महिला अगुवाहरूलाई पितृसतात्मक सोचविरुद्ध लड्न उक्साइन् । महिला आन्दोलनको फलस्वरूप भारतको उतराखण्डमा भूमिमा महिला र पुरुषको समान अधिकार हुने कानुन नै बनेको छ । अहिले भारतमा यस राज्यमा महिला आर्थिक रूपमा आत्मनिर्भर र स्वतन्त्र भएका छन् । भासिनले पछिल्लो समय अफगानिस्तानमा सरिया कानुनको सशक्त विरोध गर्दै आएकी थिइन् । गोप्य रूपमा अफगानिस्तानका महिलाका लागि पनि उनी मार्गदर्शक नै भइन् ।
भासिनको बाल्यकाल राजस्थानमा बितेको थियो । यहाँ उनले सामाजिक विसंगति–विकृति, महिला हिंसा, महिलाका समस्या तथा चुनौतीहरू सानैदेखि नियालेकी थिइन् । उनले महिलामाथि हुने जघन्य अपराधलगायतलाई पचाउन सकिनन् । सानैदेखि उनी महिला हिंसाको सशक्त विरोध गर्थिन् । राजस्थान विश्वविद्यालयमा स्नातक तहसम्म पढेर उनी जर्मनीमा अध्ययनको सिलसिलामा पुगिन् । समाजशास्त्र विषय लिएर पढेकी उनले केही वर्ष जर्मनीका कलेजमा पढाइन् पनि । उनलाई लामो समय जर्मनीमा बस्न मन लागेन । पुनः राजस्थान फर्किएर महिलालाई एकीकृत गरी नारीवादी आन्दोलन गर्न सुरु गरिन् ।
कमला भासिन भारतमा मात्रै होइन दक्षिण एसियामै नारीवादी आन्दोलनको धुरी थिइन् । उनले बंगलादेश र पाकिस्तानमा समेत हक-अधिकारको लागि लड्न महिलालाई उक्साएकी थिइन् ।
भासिन भारतमा महिलाको पक्षमा आन्दोलन सुरु गर्नेमध्येमा एक हुन् । उनले सन् १९७५ देखि सशक्त रूपमा नारीवादी आन्दोलन गरेकी थिइन् । उनले विभिन्न कार्यक्रममा गाउने गीत ‘तोड्कर बन्धनों को…’ भारतीय किशोरी तथा महिलाले महिला आन्दोलनका बेला वा जुनसुकै बेला पनि गुनगुनाउने गीत हो ।
वास्तवमा कमला भासिन भारतको मात्र नभई दक्षिण एसियाली महिला आन्दोलनकै एक खम्बा थिइन् । महिलालाई अधिकारका लागि लड्न प्रेरित गदै संगठित गर्न सिपालु महिला अगुवा हुन् । ‘बिलियन राइजिङ’ को नामबाट भएको एक अन्तर्राष्ट्रिय महिला आन्दोलनमा पनि उनको सशक्त भूमिका रहेको थियो ।
भासिनले लैंगिक समानताको संघर्ष सम्बन्धमा फरक दृष्टिकोण दिएकी छन् । उनले महिला र पुरुषबीचको संघर्षलाई दुईवटा फरक सोचले भरिएको दिमागबीचको संघर्ष भनेकी छिन् । उनले महिला पनि पितृसत्तात्मक धारणाका हुने र पुरुष पनि नारीवादी हुनसक्ने जनाएका छन् । भासिनले महिला स्वतन्त्र नभएसम्म पुरुष पनि स्वतन्त्र हुन नसक्ने जनाएकी छन् । उनले सृष्टि नै पुरुष र महिला सँगसँगै चल्नुपर्ने गरी बनेको जनाएकी छन् । कुनै पनि देश अग्रगामी दिशामा अघि बढ्नलाई नारी–पुरुष समान हुनैपर्ने भासीनको दाबी छ ।
भासिनले गरेको नारीवादी आन्दोलन र उनको महिलावादी सिद्धान्तलाई जुनसुकै देशका महिला अगुवाहरूको लागि मार्गदर्शन हो । उनको नारीवादी आन्दोलनप्रतिको लगाव र प्रतिबद्धतालाई व्यवहारमा उतारे नेपाललगायत दक्षिण एसियाली देशका महिलाले पुनः आन्दोलन गनुपर्ने अवस्था हुँदैनथ्यो कि !
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया