सोमबार, वैशाख १५, २०८२

उत्तर कोरियासँग छ अमेरिकासम्म पुग्ने अस्त्र !

नेपालखोज २०७८ असोज १४ गते १२:५८

प्योङ्याङ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिएको छ । अस्त्र विकासमा आफुलाई अब्बल मान्ने उत्तर कोरियासँग कति छ त हतियार ? धेरैको प्रश्न पनि हुन्छ । मंगलवार पनि हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो ।

उत्तर कोरियाले सम्भावित अमेरिकी हमलाबाट आफूलाई रक्षा गर्न अस्त्र विकास आवश्यक भएको बताउँदै आएको छ । ह्वासङ्–८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजनाअन्तर्गत तयार गरिएका ’महत्त्वपूर्ण पाँच हतियार’ प्रणालीमध्ये एक हो । यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण पनि हो ।

यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको थियो । जनवरीमा उत्तर कोरियाले पनडुब्बीबाट मार हान्ने क्षेप्यास्त्र सार्वजनिक गरेको थियो । यो विश्वको सबैभन्दा शक्तिशाली अस्त्र भएको दाबी उत्तर कोरियाको हो ।

शक्तिशाली मानिएको हतियारको क्षमता अज्ञात छ । उत्तर कोरियाले खुलाएको छैन । उक्त परीक्षण गरिएको वा नगरिएको भन्ने स्पष्ट पनि छैन । तर, उत्तर कोरियाली नेता किम जङ–अनले आफ्नो देशको पारमाणविक अस्त्र र सैन्य क्षमता बढाउने बताएका छन् ।

उत्तर कोरियामा आर्थिक नाकाबन्दी छ । यस बीचमा पनि उसले आफ्नो अस्त्र क्षमतामा भने उल्लेख्य वृद्धि गरेको छ । भनिन्छ उत्तर कोरियासँग अमेरिका सम्म पुग्ने अस्त्र छ । सन् २०१७ भरि उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रहरूले उनको सैन्य प्रविधिमा भएको विकास देखाएको छ ।

ह्वासाङ–१२ क्षेप्यास्त्र ४ हजार ५ सय किलोमिटर पर पुग्ने सोचिएको थियो । यसले ग्वाम टापूमा रहेका अमेरिकी सैन्य आधार क्षेत्रसम्म मार हान्न सक्थ्यो । पछि ह्वासाङ–१४ अझ शक्तिशाली भएको देखियो । यसले ८ हजार किलोमिटर मार हान्ने र अधिकतम १० हजार किलोमिटरसम्म पुग्ने बताइएको थियो । यो उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्र बन्यो जुन न्यूयोर्कसम्म पुग्न सक्छ ।

ह्वासाङ–१५ परीक्षण गर्दा ४ हजार ५ सय किलोमिटर माथि पुग्ने बताइयो । यो दूरी भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा १० गुणा माथि हो । जमिनमा प्रहार गर्दा यो १३ हजार किलोमिटरसम्म पर पुग्न सक्छ जसको अर्थ अमेरिकाको कुनै पनि स्थानसम्म पुग्न सक्ने क्षमता हो ।

सन् २०२० को अक्टोबरमा उत्तर कोरियाले बेनामी बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक ग¥यो । परीक्षण नगरिएको सो क्षेप्यास्त्रले एकभन्दा बढी पारमाणविक अस्त्र बोक्न सक्ने बताइएको छ । यसको ठूलो आकारले विज्ञहरूलाई समेत चकित पारेको थियो । मार्चमा उत्तर कोरियाले २ हजार ५ सय किलो हतियार बोक्न सक्ने नयाँ क्षेप्यास्त्र बनाएको बतायो । यसको अर्थ यसले पारमाणविक हतियार बोक्न सक्छ भन्ने हुन्छ ।

हालै परीक्षण गरिएको सीधा बाटो नजाने लामो दूरीका क्रूज क्षेप्यास्त्रले रक्षा प्रणालीलाई चुनौती थप्न सक्ने बताइएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रूज क्षेप्यास्त्र परीक्षण गर्न रोक लगाएको छैन । मंगलबार परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रको भने गति तीव्र छ ।

सन् २०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाले हालसम्मकै आफ्नो सबैभन्दा ठूलो पारमाणविक परीक्षण ग¥यो । सो उपकरणको विस्फोटन शक्ति सय देखि ३ सय ७० किलोटनको रहेको छ । सय किलोटनको बम हिरोशिमामा सन् १९४५ खसालिएको बमभन्दा छ गुणा शक्तिशाली हुन्छ ।

उत्तर कोरियाले त्यसलाई आफ्नो पहिलो थर्मोन्यूक्लीयर हतियार परीक्षण भएको दाबी गरेको छ । थर्मोन्यूक्लीयर हतियारलाई परमाणुले विस्फोटन गरेपछि पुनः अर्को विस्फोटन गराई झन् ठूलो विस्फोट हुन बनाइन्छ । सन् २०१८ को एप्रिलमा उत्तर कोरियाले आफ्नो क्षमता पुष्टि भएकोले पारमाणविक परीक्षण रोक्ने बताएको थियो ।

बीबीसीको सहयोगमा तयार समाचार

प्रतिक्रिया