मंगलबार, वैशाख १८, २०८१

‘रुइबा’ लिएर आउँदै पत्रकार आचार्य

नेपालखोज २०७८ असोज १६ गते १०:१२

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्य उपन्यास लिएर नेपाली साहित्य बजारमा आँउँदै छन्। उनको उपन्यास ‘रुइबा’ घटस्थापनादेखि नेपाली पाठकले पढ्न पाउने भएका छन्।
धेरैले शंका गर्छन् ‘रुइबा’ चिनियाँ शब्द हुनसक्छ। आचार्य चीनको राजधानी बेइजिङमा बसेर पत्रकारिता गरिरहेको र बेइजिङमै बसेर उपन्यास लेखेकाले उपन्यासको नाम चिनियाँ भन्ठान्नु स्वाभाविक पनि हो। झट्ट सुन्दा अनौठो भएकाले पनि धेरै ‘रुइबा’ शब्द चिनियाँ हो कि भनेर सोध्ने गरेको स्वयं आचार्य बताउँछन्। उनले भने ‘यो तामाङ भाषाको शब्द हो।’
काठमाडौँ वरिपरीको तामाङ जातिलाई केन्द्रमा राखेर लेखिएकाले उपन्यासको नाम पनि तामाङ भाषाकै शब्दबाट राखिएको उनले बताए। तामाङ जातिका संस्कृतिमा आधारित नेपाली आख्यात निकै कम प्रकाशित छन्। आफूले उपन्यासको आधा भाग तामाङ संस्कृति र आधा भाग चिनियाँ संस्कृतिलाई विषय बनाएर लेखेको उल्लेख गर्दै आचार्यले भने ‘तामाङ संस्कृतिलाई आख्यानमा उतार्नका लागि निकै अध्ययन गर्नुपर्ने रहेछ। तामाङ संस्कृति अध्ययन गर्दै उपन्यास लेख्दा ७ वर्ष लाग्यो।’
काठमाडौँ वरिपरीको भूभाग तामाङ बस्ती भए पनि सिन्धुपाल्चोक र धादिङका तामाङमा फरक संस्कृति अँगाल्ने थाहा पाएपछि उपन्यास लेखनमा आफूलाई अझ कठिन भएको उनी सुनाउँछन्। ‘काठमाडौँ पूर्वका तामाङ र काठमाडौँ पश्चिममा तामाङका सांस्कृतिक गतिबिधिमा धेरै फरक रहेछ’ उपन्यास लेख्दाको अनुभवका आधारमा आचार्यले भने ‘धादिङका तामाङको संस्कृति अध्ययन गर्नका लागि काभ्रेका तामाङलाई सोधेर नहुने रहेछ। आकाश जमिनको फरक पर्ने भएपछि मलाई निकै समस्या भयो।’
धादिङकी एकजना महिला पात्रलाई केन्द्रमा राखेर लेखिएको रुइबाले त्यहाँको गरिबी, भोकमरी, वैदेशिक रोजगार, शोषण, पीडा र आँशुलाई बोकेको छ। यथार्थवादी सामाजिक चित्रण गरिएको उपन्यासले धादिङ र काठमाडौँको जनजीवनलाई निकै आहतपूर्ण तरिकाले पाठकसामु राख्ने प्रयास गरेको आचार्य बताउँछन्।
तामाङ मातृसत्ता प्रणाली अपनाउने जाति हो। तामाङ जातिमा छोरीलाई बिहे गरेर दिँदा माइति पक्षले बाउको थर र हाड दिँदैनन्। बिहे गरेकी चेलीको मृत्यु भएपछि माइतिले अस्तुको रुपमा चेलीको हड्डी ल्याएर सेलाउने चलन छ। यही संस्कृतिलाई व्यक्त गर्ने शब्द हो ‘रुइबा’। तामाङ भाषामा हड्डीलाई रुइ भनिन्छ। अनि लाश जलाएपछि लिइने अस्तुलाई चाहिँ रुइस्याल अथवा रुइबा भनिन्छ। उपन्यासले बोकेको सार यही भएको आचार्य बताउँछन्।
रुइबाको प्रकाशन बानेश्वरमा रहेको फिनिक्स बुक्सले गरेको हो।
बिगत २५ वर्षदेखि पत्रकारिता पेशा अँगाल्दै आएका आचार्यको यो छैटौँ कृति हो भने साहित्यिक कृतिमा चाहिँ यो उनको चौथो सिर्जना हो। उनका साहित्यिक कृतिहरुमा रित्तो कथाको तस्बिर (कथा सङ्ग्रह) २०६८, बुद्धको उपहार (कथा सङ्ग्रह) २०७१ र उपहार (कथा सङ्ग्रह) २०७५ प्रकाशित छन्। गैर आख्यानमा मेरा आँखामा चीन (समसामयिक लेख सङ्ग्रह) २०७२ र चीन चियाउँदा (संस्मरण) २०७४ प्रकाशित छन्।

प्रतिक्रिया