महालक्ष्मी बैंकका अध्यक्षको अवैध धन्दा, आफन्तको नाममा संस्थापक सेयर खरिद

काठमाडौं । महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले अवैध प्रक्रियाबाट आफन्तहरूको नाममा सेयर खरिद गरेका छन् । उनले सासू, भाइ–बहिनीलगायतको नाममा विभिन्न समयमा संस्थापक सेयर खरिद गरेको खुलेको हो ।
यस्तै उनले बैंकभित्रका आफूनिकटका कर्मचारी तथा विश्वासपात्र, व्यावसायिक साझेदार, एनएलजी इन्स्योरेन्सका जिम्मेवार व्यक्तिलगायत व्यक्तिको नाममा पनि सेयर खरिद गरेको पाइएको छ । आफन्तहरूको नाममा मात्रै उनले लगभग ११ लाख कित्ता सेयर खरिद गरेका छन् ।
उपाध्यायले व्यावसायिक साझेदार तथा एनएलजी इन्स्योरेन्सका सीईओको नाममा २०७२ भदौ १५ मा डेढ लाख कित्ता संस्थापक सेयर खरिद गरेका थिए । उक्त सेयर सेयर भवानी थापाको नामबाट सुनीलबल्लभ पन्तका नाममा खरिद गरेको जनाइएको छ । यसैगरी उनले गैरकानुनी किसिमले २०७२ कात्तिक १३ मा पन्तको नाममा थप २५ हजार कित्ता संस्थापक सेयर पनि किनेका छन् ।
महालक्ष्मी बैंकको अध्यक्ष हुनुअघि उनीसँग ६० हजार कित्ता मात्रै सेयर थियो । बैंकमा अवैैध ढंगबाट सेयर हिस्सा बढाउने क्रममा उपाध्यायको आजभोलि लगभग १६ लाख कित्ता सेयर खरिद गरेको प्रमाणित भइसकेको छ ।
बैंक तथा वित्तीय संस्थामा अध्यक्ष भएका बेला वा तोकिएका कुनै पनि पदमा बहाल रहेका बेला आफ्नो नाममा सम्बन्धित संस्थाको सेयर किन्न नपाइने नेपाल राष्ट्र बैंकको कानुनी व्यवस्थामा उल्लेख छ । यद्यपि उनले विभिन्न प्रक्रियाबाट आफूनिकट व्यक्ति र आफन्तका नाममा सेयर किनेर बैंकमा आफ्नो हिस्सा बढाएका हुन् ।
बैंकको अध्यक्षजस्तो व्यक्तिले आफन्तका नाममा गलत प्रक्रियाबाट सेयर खरिद गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको नेपाल राष्ट्र बैंक स्रोतको दाबी छ ।
प्रतिक्रिया