चुर्रा अर्थात् चेरापुन्जी !
पुलहरू सामान्यतः सयौं वर्षदेखिका छन् । जरे पुललाई वैज्ञानिकहरूले बायो इन्जिनियरिङको एउटा उपलब्धिका रूपमा लिने गरेका छन् ।

चेरापुन्जी । चेरापुन्जी विश्वमा सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो । यो पछिल्लो समय एक प्रसिद्ध विश्व पर्यटकीय स्थल भएको छ । समुद्र सतहबाट १४ सय ८४ मिटर औसत उचाइमा रहेको यस स्थान आसपासका बासिन्दाले प्रायः वर्षैभरि हातमा छाता बोकेर हिँड्नुपर्छ । यो भारतको दक्षिणपूर्वी मेघालय राज्य खासी हिल्सको दक्षिणी भागमा अवस्थित छ ।
वर्षैभरि वर्षा हुने यो ठाउँमा ६ महिनाभन्दा बढी समय पानी पर्छ । तर, विगतका वर्षहरूको तुलनामा आजभोलि अलि कम वर्षा भएको बताउँछिन् सिलङमा बस्दै आएकी रोमा पौडेल (भट्टराई) । क्षणक्षणमा बदलिने मौसम र मनमोहक दृश्यहरू यहाँका आकर्षक पक्ष भएको उनको अनुभव छ ।
यस ठाउँमा वर्षाको बेला एकै क्षणमा घाम देखिन्छ त, केही बेरपछि कुहिरो, फेरि वर्षा हुन्छ । परिवर्तन भइरहने मौसममा रमाउनका लागि देश–विदेशबाट मानिसहरू यहाँ पुग्ने गर्छन् । नजिकमा बंगलादेशको समथर भू–भाग पर्छ । दक्षिण–पश्चिम र पूर्वोत्तर मनसुनी हावा दुईतिरबाट बहने गर्नाले लामो मनसुन हुन्छ । यस क्षेत्रमा हावा पनि जोडले चल्छ । जाडो समयमा पूर्वोत्तर र ब्रह्मपुत्र घाँटीबाट मनसुनी हावा आउनाले वर्षा धेरै नैं हुने गर्छ । गर्मीमा भने बंगालको खाडीबाट आउने मनसुनले वर्षा हुने गर्छ । चेरापुन्जीमा औसत ११ हजार ७ सय ७७ मिलिमिटर वर्षा हुन्छ ।
चेरापुन्जी विश्वकै दोस्रो ओसिलो ठाउँ पनि हो । यस ठाउँ सुन्तला रंगको निकुञ्ज क्षेत्र, सुन्तला स्वादको मह र चुनढुंगाको गुफाका लागि पनि चिनिन्छ । यो ठाउँ भारतको उत्तरपूर्वी राज्य मेघालयको राजधानी सिलङबाट ५६ किलोमिटर दूरीमा पर्छ । यो समुद्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा छ । गिनिजबुक अफ वर्ल्ड रेकर्डमा पनि यो ठाउँ विश्वको सबैभन्दा ओसिलो भनेर लेखिएको छ । यहाँ वर्षा मिलिमिटरमा नभई फिटमा नाप्ने गरिन्छ । सयौं मनमोहक झर्ना भएको यस ठाउँमा विश्वकै चौथो अग्लो स्थानमा रहेको आकर्षक झर्ना पनि छ ।

चेरापुन्जीको एकमात्र फरक आकर्षण भनेको जीवित रूखका जराबाट बनेका पुलहरू हुन् । यस्तो खालको पुल बनाउन १० देखि १५ वर्ष लाग्ने गर्छ । पुलहरू सामान्यतः सयौं वर्षदेखिका छन् । जरे पुललाई वैज्ञानिकहरूले बायो इन्जिनियरिङको एउटा उपलब्धिका रूपमा लिने गरेका छन् । दुईतले रुट ब्रिज जीवित रूखको जराबाट वैज्ञानिक किसिमले बनाइएको छ । सय फिट लामो यस पुलबाट एकपटकमा ५० जना मान्छे ओहोरदोहोर गर्न सक्छन् ।
दुईतले रुट ब्रिज जीवित रूखको जराबाट वैज्ञानिक किसिमले बनाइएको छ । सय फिट लामो यस पुलबाट एक पटकमा ५० जना मान्छे ओहोरदोहोर गर्न सक्छन् ।
चेरापुन्जीको पहिलो नाम चुर्रा थियो, जुन ब्रिटिस शासकहरूले नामकरण गरेका थिए । ब्रिटिस शासनको पलायनपछि मेघालय राज्यले स्थानीय भाषाको पहिचान झल्किने गरी यस ठाउँको नाम चेरापुन्जी राखेको हो । यस क्षेत्रमा भारी वर्षाका कारण सिँचाइ सुविधाबाट कृषकहरू वञ्चित छन् । जमिनको माथिको मलिलो माटो वर्षाले बगाउने भएकाले वर्षौंदेखि मानिसहरू वन क्षेत्रमा बस्ने गर्छन् ।
चेरापुन्जीबाट १२ किलो दूरीमा रहेको थाङ्खराङ पार्क आकर्षक गन्तव्य हो । पार्क क्षेत्रको हरियाली, घुमाउरो तथा फराकिलो आकर्षक नदीको दृश्यले सबैको मन लोभ्याउने गर्छ । अर्कातिर यो ठाउँ सुन्तलाको बासना आउने, सुन्तलै रङको महका लागि प्रख्यात छ । यस्तै जनजातिका आकर्षक गरगहनाका लागि पनि प्रसिद्ध छ । निगालो, बाँस र काठका हस्तकलाका सामग्रीको लागि पनि यो ठाउँ उत्तिकै चिनिएको छ ।
सामान्यतः सेप्टेम्बर र अक्टोबर महिना चेरापुन्जी भ्रमण गर्न राम्रो मानिन्छ । अरू बेला गर्मीको समयमा जुनसुकै महिना पनि यस क्षेत्रको भ्रमणमा मानिसहरू जाने गर्छन् ।
-विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा


प्रतिक्रिया