सोमबार, वैशाख १५, २०८२

एयर इन्डिया अब टाटाको स्वामित्वमा !

नेपालखोज २०७८ कार्तिक ९ गते १५:०८

नयाँदिल्ली । भारत सरकारको मातहतमा रहेको विमान सेवा कम्पनी एयर इन्डिया टाटा समूलाइ बिक्री गर्ने लामो प्रक्रिया अब पूरा भएको छ । भारत सरकारले टाटा सन्सका साथ एयर इन्डियाको बिक्रीका लागि सेयर खरीद सम्झौतामा हस्ताक्षर गरेसँगै हिजैदेखि एयर इन्डिया टाटा सन्सको भैसकेको हो । यो लेनदेनमा एयर इन्डिया एक्‍सप्रेस तथा ग्राउन्ड हेन्डलिङ कम्पनी एआईएसएटीएसको बिक्री पनि सामेल छ ।

ऋणमा डुबेको एअर इन्डियालाई बेच्न भारत सरकारले लामो प्रयास गरेको थिो जुन आखिरमा सफल भयो भने अब यो एयरलाइन्स कम्पनीले नयाँ मालिक पाएको छ । टाटा ग्रुपले एअर इन्डियाका लागि १८ हजार करोड भारुको टेन्डर हालेको थियो । यसका साथ टाटा ग्रुपले एक पटक फेरी एअर इन्डियाको स्वामित्व प्राप्त गरेको छ । अब टाटा ग्रुपले एअर इन्डियाको १५ हजार ३०० करोड भारु ऋण आफ्नो थाप्लोमा लिएको छ । एअर इन्डिया माथि ३१ अगस्टसम्म ६१ हजार ५६० करोड भारु ऋण थियो जसमा १५,३०० करोड भारु टाटा सन्सले चुकाएपछि बाँकी ४६,२६२ करोड भारु AIAHL (Air India asset holding company) ले तिर्नेछ ।

एअर इन्डियाको लिलामीका लागि अनेकौं पटक बढाबढको आवेदन मागिएको थियो भने गएको सेक्टेम्बरमा दुई वटा बिडरको नाम फाइनल गरिएको थियो । एअर इन्डियाका लागि टाटा ग्रुप र स्पाइसजेटका अजय सिंहले अन्तिम बोली लगाएका थिए । जसमा सरकारले टाटाको पक्षमा निर्णय लियो ।

जेआरडी टाटाले १९३२ मा टाटा एयरलाइन्सको स्थापना गरेका थिए । अहिले ६८ वर्ष पछि टाटाले एअर इन्डिया नाममा परिवर्तन भएको त्यही कम्पनी सबैभन्दा बढी बोली लगाएर आफ्नो बनाएका छन् ।

यो सम्झाैतामा एअर इन्डियाका सबै कर्मचारीको ध्यान पुर्‍याइने र उनीहरु माथि यो खरिद बिक्रीको कुनै असर नपर्ने बताइएको छ ।

किन बिक्यो एअर इन्डिया ?
यो कथा सुरू हुन्छ सन् २००७ देखि । २००७ मा भारत सरकारले आफू मातहतका दुई एयरलाइन्स कम्पनी एअर इन्डिया र इन्डियन एयरलाइन्सलाई मर्ज गरेको थियो । उक्त मर्जरका लागि सरकारले हवाई इन्धनको बढ्दो मूल्य तथा प्राइभेट एयरलाइन्स कम्पनीहरुबाट प्राप्त प्रतिस्पर्धालाई प्रमुख कारण बताएको थियो । सन् २००० देखि लिएर २००६ सम्म एअर इन्डियाले नाफा नै दिइरहेको थियो तर २००७ को इन्डियन एयरलाइन्ससँगको मर्जरपछि समस्या बढ्दै गयो । त्यसपछि यो विमान कम्पनीको ऋण लगातार बढ्दै गयो । यो कम्पनीमाथि ३१ मार्च २०१९ सम्म ६० हजार करोड भारुभन्दा बढी ऋण भइसकेको थियो । आर्थिक वर्ष २०२०-२१ का लागि गरिएको अनुमान अनुसार यो एयरलाइन्सको घाटा ९० हजार करोड भारु पुग्ने थियो ।

एयर इन्डिया बेच्ने प्रयास
भारत सरकारले सन् २०१८ मै एअर इन्डियाको ७६ प्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेको थियो । यसका लागि सरकारले एक्सप्रेसन अफ इन्टेस्ट (EOI) पनि मागेको थियो, जसको निर्धारित मिति ३१ मार्च २०१८ सम्म कसैको आवेदन परेन । त्यसपछि जनवरी २०२० मा फेरी एयर इन्डियाको बिक्रीका लागि नयाँ प्रक्रिया थालियो । तर यस पटक ७६ प्रतिशतको हिस्सेदारीको साटो सतप्रतिशत हिस्सेदारी बेच्ने निर्णय सरकारले लियो । यस पटक १७ मार्च २०२० सम्ममा एक्सप्रेसन अफ इन्ट्रेस्ट बुझाउन आव्हान गरिए पनि कोरोना महामारिका कारण यो १५ सेक्टेम्बर २०२१ सम्म लम्बिएको थियो ।

सन १९३२ मा टाटाले नै सुरु गरेका थिए एअर इन्डिया
एअर इन्डियाको सुरुवात १९३२ मा टाटा ग्रुपले नै गरेको थियो । टाटा समूह का जेआरडी टाटा यसका संस्थापक थिए । उनी आफैँ पनि पाइलट थिए । त्यतिबेला यो एयरलाइन्सको नाम टाटा एअर सर्भिस राखिएको थियो । १९३८ सम्ममा उक्त कम्पनीले घरेलु उडान सुरू गरिसकेको थियो भने दोस्रो विश्वयुद्ध पछि यसलाई सरकारले खरिद गरेर आफ्नो बनायो । भरत स्वतन्त्र भएपछि यसमा सरकारको सेयर ४९ प्रतिशत थियो ।

एयर इन्डिया टाटा ग्रुपको तेस्रो एयरलाइन्स ब्रान्ड हुनेछ । एयर एशिया इन्डिया र विस्‍तारामा टाटा सन्सको ठुलो लगानी छ । टाटा सन्सले १९३२ मा टाटा एयर सर्भिसेज नाममा एयरलाइन्स सेवा शुरू गरे पनि पछि त्यसको नाम परिवर्तन गरेर टाटा एयरलाइन्स राखियो ।

यता १९४७ मा भारत स्वतन्त्र भएपछि तत्कालीन सरकारले आफ्नै ध्वजावाहक राष्ट्रिय एयरलाइन्सको आवश्यकता महसुस गरी टाटा एयर सर्भिसेजको ४९ प्रतिशत शेयर खरिद गर्‍यो । भारत सरकारले १९५३ मा एयर कर्पोरेसन एक्ट पास गर्यो अनि टाटासँग टाटा एयर सर्भिसेजको ठूलो हिस्सेदारी खरिद गर्दै यसलाई आफ्नो अथवा सरकारी कम्पनी बनायो ।

प्रतिक्रिया