आइतबार, असार ८, २०८२

राष्ट्र बैंकले गर्‍याे निकासी पैठारीमा हुने विदेशी मुद्राको कारोबारमा कडाइ

नेपालखोज २०७८ कार्तिक १२ गते १५:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले निकासी पैठारीमा हुने विदेशी मुद्राको कारोबारमा कडाइ गरेको छ । आज शुक्रबार वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास बैंकको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैकले विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको हो ।

परिपत्र अनुसार बीउ बिजन ऐन २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउ बिजनको मात्र बिक्री वितरण गर्न पाईने व्यवस्था गरेकाले उक्त ऐनमा सूचीकृत भएका बालीहरुको बीउ तथा विरुवाहरु मात्र आयात गर्न पाइने छ ।

राष्ट्र बैंकका अनुसार निकासी पैठारी (नियन्त्रण ऐन २०१३ अन्तर्गत नेपाल सरकारले समय समयमा निकासी पैठारी गर्न पुर्ण वा परिणात्मक बन्देज लगाएका वस्तुहरु भने सोही बमोजिम हुने छ ।

परिपत्र अनुसार केराउको पैठारीमा लगाएको पुर्ण बन्देजलाई हटाएर २५ हजार मेट्रिक टन ननाघ्ने व्यवस्था गरिएको छ भने छोकडाको पैठारीमा लगाएको पुर्ण बन्देजलाई हटाएर पाँच हजार मेट्रिक टन ननाघ्ने व्यवस्था गरिएको छ ।

यसैगरी मरिचको पैठारीमा लगाएको पुर्ण बन्देजलाई हटाएर १५ हजार मेट्रिक टनमा सिमित गरिएको छ । राष्ट्र बैंकका अनुसार अब सोही परिमाण अनुसारको विदेशी मुद्राको सटही सुबिधा उपलब्ध गराउनु पर्ने छ ।

परिपत्र अनुसार अमेरिकी डलर ५० हजार भन्दा बढी मुल्यको सवारी साधनको पैठारीमा लगाईएको पुर्ण बन्देजलाई हटाइएको हुँदा सोही व्यवस्थाको अधीनमा रही बिदेशी मुद्राको सटही सुबिधा उपलब्ध गराउनु पर्ने छ ।

परिणात्मक बन्देजको सीमा तोकिएका वस्तुहरुको हकमा कोटा (इजाजतपत्र) प्राप्त गर्ने आयातकर्ताले त्यस्तो इजाजतपत्रमा उल्लेखित म्यादभित्र चलान गराएको, गराउने आधारमा त्यस्ता वस्तुहरु पैठारीको लागि सटही सुबिधा प्रदान गर्न सकिने छ ।

प्रतिक्रिया