शनिबार, जेठ ४, २०८२

तयार भो कोरोना लागिसकेपछि खाने औषधि !

नेपालखोज २०७८ कार्तिक १३ गते १७:२८

काठमाडौं । औषधि निर्माता भारतीय कम्पनी अप्टिमस फर्माले कोरोना भाइरसको संक्रमणको उपचारका लागि तयार पारेको मोलनुपिराविर ओरल क्याप्सुलले तेस्रो चरणको क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा गरेको बताएको छ ।

परीक्षणका क्रममा उपचारमा संलग्न ७८.४ प्रतिशत रोगीको पाँचौं दिनको आरटी-पीसीआर नेगेटिभ पाइएको बताइएको छ । यसैगरी परीक्षण उपचारमा संलग्न बिरामीहरुको दशौं दिनको आरटी-पीसीआर जाँचमा ९१.५ प्रतिशतको रिपोर्ट नेगेटिभ देखिएको थियो । अप्टिमस फर्माका अध्यक्ष तथा प्रबन्ध निर्देशक डी. श्रीनिवास रेड्डी भन्छन्, ‘हाम्रो उद्देश्य कोभिड-१९ का लागि एक अत्याधुनिक र किफायती उपचारको विकल्प विकसित गर्नु तथा न्यूनतम समयमा बिरामीलाई यो प्रयोग गर्नु हो ।’

हैदराबादको फर्म CDSCO तथा स्वास्थ्य सेवा महानिर्देशालयको विषय विशेषज्ञ समिति (SEC) को सिफारिसअनुसार यो परीक्षण ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (DCGI), डीजीएचएस एवं भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले स्वीकृति प्रदान गरेको थियो ।

हल्का वा मध्यम कोभिड संक्रमणको उपचारका लागि तयार पारिएको यो मोलनुपिरविर औषधिलाई आपत्‌कालीन अनुमति प्रदान गर्न सल्लाहकार समितिको बैठकबाट निर्णय गरिने तयारी छ ।

अप्टिमस फर्मा भारतको केन्द्रीय लाइसेन्सिङ प्राधिकरणमा फेज-थ्रीको क्लिनिकल ट्रायल प्रस्तुत गर्ने पहिलो औषधि कम्पनी हो । यो औषधिको अध्ययन-प्रयोग भारतका २९ अलग-अलग ठाउँमा गरिएको थियो ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया