भाइटीका एवं किजा पूजा कात्तिक २० गते, ११:०२ बजे

काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटीका कात्तिक २० गते शनिबार परेको छ । यस दिन बिहान ११:०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जनाएका छन् ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक साता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।
यस अवसरमा विकृतिका रूपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अंगभंग हुने समस्यासमेत बढ्न थालेको छ ।
नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्कन भने छोडेको छैन ।
प्रतिक्रिया