सस्तो इलेक्ट्रिक कार, तीनचक्के स्ट्रोम आर-थ्री !
हिजोआज इलेक्ट्रिक कारको निकै चर्चा छ । किफायती तथा प्रदूषणमुक्त बिजुली कारका भेराइटी पनि उत्तिकै आइरहेका छन् । यी निकै सुविधायुक्त तथा आकर्षकसमेत देखिन्छन् ।

काठमाडौं । लगातार बढिरहेको पेट्रोल-डिजलको मूल्य तथा वातावरणप्रतिको संवेदनशीलताका कारण मानिसहरुको रुचि इलेक्ट्रिक वाहनतर्फ बढ्दो छ । केही किफायती हुने भएकाले पनि इलेक्ट्रिक कारप्रतिको आकर्षक बढेको हो । त्यसै पनि अब आउँदा दिन इलेक्ट्रिक कारको हुने लगभग तय छ ।
सबैभन्दा सस्तो इलेक्ट्रिक कार भएको दाबी
भारतको आर्थिक राजधानी मुम्बईको स्टार्टअप कम्पनी स्ट्रोम मोटर्सले निर्माण गरेको यो कारमा तीनवटा मात्र चक्का छ । यद्यपि यसको लुक थ्री-ह्विलरको जस्तो नभएर निकै युनिक देखिन्छ । स्ट्रोम मोटर्सको दाबीअनुसार यो संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हो ।
२०२२ मा गुड्न थाल्नेछ सडकमा
यो कारको नाम स्ट्रोम आर थ्री राखिएको छ । भारतमा यसको बुकिङसमेत सुरु गरिएको समाचार छ । निर्माता कम्पनीले यो इलेक्ट्रिक कारलाई सुरुमा मुम्बई र दिल्लीमा उतार्ने योजना बनाएको छ । कम्पनीले यो इलेक्ट्रिक कार २०२२ देखि सडकमा गुडन थाल्ने जानकारी दिएको छ ।

अनौठो लुक
हामीले अनेकौं किसिमका थ्री ह्विलर देखेकाछौं तर स्ट्रोम आर थ्री साधारण थ्री ह्विलर जस्तो छैन । आम रुपमा थ्री ह्विलरमा अगाडि एउटा चक्का र पछाडि दुईवटा चक्का हुन्छ तर यो कारमा त्यसको ठीकविपरीत अगाडि दुई चक्का र पछाडि बीचमा एउटा चक्का दिइएको छ । निर्माताहरुको दाबीअनुसार यो कार सिंगल चार्जमा करिब दुई सय किलोमिटरको दूरी तय गर्न सक्षम छ । स्ट्रोम आर थ्री मा फोर-जी कनेक्टेड डायग्नोस्टिक इन्जिन रहनेछ जसले लोकेसन र चार्ज स्टाटसको जानकारी दिनेछ । यो कारमा सनरूफको सुविधासमेत रहनेछ ।
स्ट्रोम आर थ्री कारको मूल्य भारतीय बजारमा सात लाख २० हजार जति रहनेछ । यो कार अधिकतम ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्न सक्ने बताइएको छ । यो कारमा तीन वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टीसमेत दिइँदै छ । यो कारमा क्लाइमेट कन्ट्रोल एयर कन्डिसनर जडान गरिएको छ । स्ट्रोम आर थ्रीको अफिसियल वेबसाइटमा यसको थप जानकारिका साथ बुकिङसम्बन्धी कामसमेत भइरहेको छ ।

प्रतिक्रिया