शुक्रबार, असार २०, २०८२

बैंक अफ काठमाडौंको प्रमुख कार्यकारी अधिकृतमा मास्के

नेपालखोज २०७८ कार्तिक १८ गते १२:४९

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ । यही कात्तिक १७ गते बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा मास्केलाई नियुक्त गरेको हो ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा यस बैंकको नेतृत्व गर्दै आएका थिए । मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेको छ जसले उहाँलाई यस बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।

नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाडौं लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराए ।

बैंक अफ काठमाडौं लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया