आइतबार, वैशाख १४, २०८२

छठ : सूर्यको पर्व

सुनील सापकोटा २०७८ कार्तिक २४ गते ७:४७

छठ पर्व सूर्य प्रती कृतज्ञता ज्ञापन गर्ने पर्व हो। हाम्रो छिमेकी देश भारतको बिहार तथा उत्तर प्रदेशमा यो पर्व भब्य रुपमा मनाइन्छ ।

नेपालको चाहिँ तराइ क्षेत्रमा यो पर्व मनाउने चलन छ । यो छठ पर्व पनि हिन्दुहरुको एउटा महत्त्वपूर्ण पर्व हो । यो पर्व सूर्यको उपासनाको पर्व हो । सूर्य उदाउँदा उज्यालो हुनु र सूर्य अस्त हुँदा अध्याँरो हुनु एउटा चमत्कार जस्तो छ ।

त्यसैले होला प्राचीन कालदेखि नै मनुष्यको लागि सूर्य एउटा अचम्म र रहस्यको विषय बनी आएको होला । हाम्रो देवी देवताहरुमा सूर्य यस्ता देवता हुन्, जो सधैं हाम्रो सामु हुन्छन् ।

उनको देवत्वलाई स्वीकार गर्न हामीलाई कुनै तर्क र प्रमाण चाहिँदैन । सूर्य हाम्रो लागि जीवन्त देवता हुन् । पृथ्वीमा जुन जीवन छ , उर्वरता छ, हरियालीको जुन महत्व र सुन्दरता छ त्यो सूर्य कै कारणले छ ।

सूर्य नभै पृथ्वीमा जीवन नै रहदैन । किनभने सूर्यको किरण पृथ्वीमा नपर्ने हो भने मनुष्य जातिको त के कुनै पनि जीवजन्तु र वनस्पतिको नामो निशान हुँदैन ।

कोहि भन्छन्, यो पर्वको सुरूवात राम र सीताले कार्तिक शुक्ल पक्षको षस्ठिको दिन सरयू नदीमा गएर स्नान गरि सूर्यको पूजाआजा गरी सूर्यलाई अर्ध्य दिएको हुँदा अरुले पनि यो देखासिखी गरी यो पर्वको परम्परा त्रेतायुग देखि नै चलेको बताउँछन् ।

कोही चाहिँ महाभारतको समयमा प्रात कालमा सधैं कर्णले नदीमा गएर कम्मर जति पानी भित्र उभिएर सूर्यको उपासना गरेको देखेर सधैं गर्न नसके पनि वर्षमा एकचोटी भएपनि सूर्यको पूजाआजा र उपासना गर्नुपर्छ भन्ने लागेर होला सूर्यको महत्व बुझी सूर्यको सम्मानको लागि यो पर्वको थालनी भएको हो भन्ने पनि छन् ।

जे भएपनि सूर्य प्रती कृतज्ञता ज्ञापन गर्ने तथा तलाव र नदीहरुको आवश्यकता र महत्व यो पर्व ले उजागर गरेको छ । अर्को .. गाउँका सबै उमेर समूहका, विभिन्न तह र तप्काका मानिसहरू त्यहाँको कुनै नदी वा पोखरीमा गएर एकत्रित भै एउटै देवताको पूजा गर्ने भएकाले पनि समाजमा मानिसहरुको बीच आपसी मित्रता ,भाइचारा, सद्भाव आदि सामुदायिकता र सहयोगको भावनामा पनि वृद्धि होला नै ।

प्रतिक्रिया