मंगलबार, वैशाख १८, २०८१

किन हुन्छ दुर्घटना ?, दसैं-तिहारमा मात्रै २३४ जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक २७ गते १२:०६

काठमाडौं । यस वर्ष दसैं तथा तिहारमा देशभर सवारी दुर्घटनामा परि २३४ जनाको मृत्यु भएको छ । एक हजार ८९८ जना घाइते भएका छन् । अन्य वर्षको तुलनामा यस वर्ष दसैं–तिहारमा धेरै सवारी दुर्घटना भएका छन् । गत वर्ष दसैँ तिहारको समयमा एक हजार ३३६ सवारी दुर्घटनामा १४२ जनाको मृत्यु भएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार यस वर्ष दसैंमा १७३ र तिहारमा ६१ जना गरी दुर्घटनामा परि कुल २३४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परि दसैंमा १ हजार १५३ जना र तिहारमा ७४५ गरी कुल १ हजार ८९८ जना घाइते भएका छन् । यस वर्ष दसैंमा कुल ९६७ र तिहारमा ४८० गरि कुल १ हजार ४४७ सवारी दुर्घटना भएका छन् ।

दसैंमा सबैभन्दा बढी प्रहरी कार्यालय पथलैयामा ३८ र कोहलपुरमा ३८ जनाको मृत्यु भएको रेकर्ड भएको छ । त्यस्तै क्रमशः महाशाखामा ३, इटहरीमा १८, मुग्लिन कार्यालयमा २३, बेल चौतारामा १६, बुटवलमा २५ र अत्तरिया कार्यालयमा २४ जनाको मृत्यु भएको रेकर्ड छ ।

त्यस्तै, तिहारमा सबैभन्दा बढी प्रहरी कार्यालय इटहरीमा १४ र मुग्लिनमा १४ जनाको मृत्यु भएको रेकर्ड भएको छ । त्यस्तै, क्रमशः महाशाखामा २, पथलैया कार्यालयमा ११, बेल चौतारामा १, बुटवलमा ८, कोहलपुरमा १० र अत्तरिया कार्यालयमा १ जनाको मृत्यु भएको रेकर्ड राखिएको छ ।

त्यस्तै, दसैंमा महाशाखा कार्यालयमा २८९ जना, इटहरी कार्यालयमा ३१४, मुग्लिन कार्यालयमा ३१२, बेलचौतरामा ८५, बुटवलमा ७४, कोहलपुरमा ४७, अत्तरियामा ३२ जना घाइतेको रेकर्ड छ ।

त्यस्तै, तिहारा महाशाखामा १३०, ईटहरीमा १५१, पथलैयामा १९५, मुग्लिनमा १७२, बेल चौतरामा ७, बुटवलमा ३८, कोहलपुरमा ३२ र अत्तरीया कार्यालयमा २० जना घाइते भएको रेकर्ड गरिएको छ । यस वर्ष सबैभन्दा बढी ५७० मोटर साइकल दुर्घटनामा परेका छन् ।

किन हुन्छ सवारी दुर्घटना ?
चाडपर्वको समयमा हरेक वर्ष अन्य समयको भन्दा केही बढी नै सवारी दुर्घटनामा पर्ने गरेका छन् । दुर्घटनाको पहिलो कारण सवारी चालकको लापरबाहीलाई नै मानिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवरका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने, जथाभावी ढोका खोलेर हिँड्ने, जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी हाँक्ने गर्नाले दुर्घटना बढी हुने गरेका छन् ।

त्यस्तै, चालक निदाउँदा, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदासमेत सवारी दुर्घटना बढी हुने गरेका छन् । सवारी दुर्घटना हुनुमा अर्कोे कारण यात्रुको कमी–कमजोरी पनि हो । चलिरहेको गाडीबाट झरिदिने, चढिदिने, झुन्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकालेर यात्रा गर्ने, एकैपटक धेरै यात्रु चढ्न खोज्ने, यात्रा गर्दा हतारिने, बाटो काट्दा सावधानी नअपनाउनेलगायत कारणले पनि दुर्घटना बढ्ने गरेका छन् ।

त्यस्तै, साँघुरा तथा भत्केका सडक, सवारीसाधनमा यान्त्रिक गडबडी, क्षमताभन्दा बढी लोड, सवारीसाधनहरू पुराना भएर ब्रेक नलाग्नु, गुड्दागुड्दै टायर खुस्किनु, टायर पन्चर हुनु, गाडीको लाइट राम्रो नहुनु जस्ता समस्याहरूले पनि सवारी दुर्घटना हुने गरेका छन् । सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने हो भने आम सर्वसाधारण र चालकले सवारी संचालन गर्दा ट्राफिक नियमलाई मात्रै प्रभावकारी ढंगबाट पालना गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया