मंगलबार, वैशाख १८, २०८१

धनीसँगै थुप्रियो धन !

नेपालखोज २०७८ मंसिर ३ गते १७:१७

सबैभन्दा आश्चर्य पार्ने तथ्यांक चीनको छ । रिपोर्टअनुसार सन् २००० मा कुल सम्पत्ति ७ खर्ब डलर भएको चीन २०२० मा १२० खर्ब डलरको भएको छ ।

काठमाडौं । बितेका २० वर्षमा संसारको सम्पत्ति तीन गुणाले बढेको छ । जसमा एक्लो चीनको भागिदारी एकतिहाइ छ । संसारभरका देशको ब्यालेन्ससिटमा नजर राख्ने म्यानेजमेन्ट कन्सल्टेन्ट म्याकेन्जी एन्ड कम्पनी (Management Consultant McKinsey & Company) को अनुसन्धान शाखाले दिएको ताजा रिपोर्टअनुसार अहिले संसारमा सबैभन्दा बढी धन चीनसँग छ भने अमेरिका दोस्रो स्थानमा धकेलिएको छ ।

रिपोर्टमा उल्लेख भएको रोचक तथ्यचाहिँ के हो भने संसारमा सबैभन्दा धेरै धन भएका चीन र अमेरिकाको धनको ठूलो भाग केही निश्चित धनीहरुमै सीमित छ । रिपोर्टअनुसार यी दुवै धनी देशका दश प्रतिशत जनसंख्यासँग सबैभन्दा धेरै धन छ । अथवा के भन्न सकिन्छ भने संसारको धनको ठूलो भाग चीन र अमेरिकाका १० प्रतिशत मानिसमा थुप्रिएको छ । रिपोर्टमा यी दुई देशमा धनीको संख्या तीव्र गतिमा बढिरहेको कुरा पनि उल्लेख छ । यही कारणले धनी र गरिब देशबीचको खाडल पनि अझ फराकिलो भएको छ ।

रिपोर्टअनुसार सन् २००० संसारको कुल सम्पत्ति १५६ खर्ब डलर थियो । जुन २०२० मा अर्थात् २० वर्षपछाडि ५१४ खर्ब डलर पुग्यो । म्याकेन्जी ग्लोबल इन्स्टिच्युटका एक सहयोगी जोन मिश्केका अनुसार संसारका कैंयन् देश तीव्र गतिमा धनी भएका छन् । रिपोर्टमा बताइएअनुसार संसारको कुल सम्पत्तिको ६८ प्रतिशत भाग अचल सम्पत्तिका रूपमा छ भने बाँकी सम्पत्तिमा आधारभूत ढाँचा, मसिनरी तथा उपकरण जस्ता चिज सामेल छन् ।

रिपोर्टमा सबैभन्दा आश्चर्य गर्ने तथ्यांक चीनको छ । रिपोर्टअनुसार सन् २००० मा कुल सम्पत्ति सात खर्ब डलर भएको चीन २०२० मा १२० खर्ब डलरको भएको छ । चीन सन् २००० अघि नै विश्‍व व्‍यापार संगठनमा प्रवेश गरिसकेको थियो । यो २० वर्षमा संसारले जति सम्पत्ति हासिल गर्‍यो त्यसको लगभग एकतिहाइ सम्पत्ति चीनसँग मात्रै छ ।

दोस्रो स्थानमा भएको अमेरिकाको सम्पत्ति यो २० वर्षमा दोब्बर भएको छ । रिपोर्टअनुसार सन् २००० मा कुल अमेरिकी सम्पत्ति ९० खर्ब डलर थियो । रिपोर्टअनुसार सम्पत्तिको मूल्यमा त्यति वृद्धि नभएकाले अमेरिकाको सम्पत्ति चीनको तुलनामा कम रह्यो र उसले नम्बर एकको स्थान गुमाउनुपर्‍यो । चीन र अमेरिका अहिलेको संसारका सबैभन्दा ठूला दुई अर्थव्यवस्था हुन् ।

आर्थिक सम्पन्नताको पर्याय चीन !

म्याकेन्जी एन्ड कम्पनीको यो रिपोर्टमा भनिएको छ- संसारमा सबैभन्दा बढी धन हुने चीन र अमेरिकामा पनि धनको ठूलो भाग केही सीमित परिवारमा केन्द्रित छ र उनीहरुको धन लगातार बढिरहेको छ । संसारको ६० प्रतिशतभन्दा बढी कमाइमा चीन, अमेरिका, जर्मनी, फ्रान्स , ब्रिटेन, क्यानाडा, अस्ट्रेलिया, जापान, मेक्सिको र स्विडेनको कब्जा छ ।

संसारको कुल सम्पत्तिको ६८ प्रतिशत भाग अचल सम्पत्ति भएको अनि त्यसको मूल्य लगातार बढिरहेको बताइन्छ । रिपोर्टअनुसार अचल सम्पत्तिमा भइरहेको मूल्यवृद्धिकै कारण आममानिसको घर किन्ने वा बनाउने सपना पूरा हुन अझ मुस्किल हुँदै जानेछ । रिपोर्ट भन्छ बैंकहरुको कम ब्याजदरका कारण पनि सम्पत्तिको मूल्य बढेको हो ।

प्रतिक्रिया