बिहीबार, असार १९, २०८२

वरिष्ठ नेता पौडेलले भने – कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भीर खतरा

नेपालखोज २०७८ मंसिर १२ गते १८:००

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भीर खतरा रहेको बताएका छन् । आइतबार काठमाडौंमा आफुद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो(रुपान्तरणको दस सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रमा गम्भीर खतरा रहेको औँल्याए ।

कांग्रेस संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफु अनुकुल गरिरहेको भन्दै उनले आन्तरिक लोकतन्त्रको लागि खतरा महशुस गरेको बताए । उनले भने, ‘निर्वाचनको क्रममा जे हामीले भोग्यौँ । निर्वाचनहरु सम्पन्न हुँदा प्रशासन, प्रहरीको जसरी कहीँ बल प्रयोग, कहीँ छल प्रयोग, कहीँ सल प्रयोग । सल, बल, छल । त्यसैले सत्ताको प्रयोग भइरहेको छ । यो पनि पार्टीभित्र आन्तरिक डेमोक्रेसीका लागि, आन्तरिक लोकतन्त्रका लागि एउटा गम्भिर खतरा बनिरहेको महशुस भइरहेको छ ।’

वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरुलाई लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता रहेको बताए । राजनीतिक दलका कारण निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उनले राजनीतिक दलहरुलाई निमुखा जनताको पहरेदार बनाउनुपर्ने बताए । दलको सदस्यलाई विशेष सहुलियत दिने तर निमुखा जनताको अधिकार कुण्ठित गरीने अवस्था रहनु चिन्ताको विषय भएको उनको भनाई छ ।

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियाबाटै निर्वाचित भएर सत्तामा पुग्ने व्यक्तिको असिमित महत्वांकांक्षाले लोकतन्त्रमाथि नै संकट पैदा हुने खतरा रहेकाले यस्तो प्रवृतिबाट लोकतन्त्र जोगाउने प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया