महादीप बाल्दै शत्बीज छर्न हजारौंको भीड

काठमाडौं । बालाचर्तुदशी पर्वका अवसरमा पशुपतिनाथ,देवघाटधामलगायत देशका विभिन्न धार्मिकस्थलमा बिहान सबेरैदेखि शतबीज छर्ने भक्तजनको भीड छ । गएराति जाग्राम बसेर पितृको नाममा दियो बाल्दै बिहान सबेरैदेखि शतविज छर्ने धार्मिक परम्परा रहँदै आएको छ । कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून संख्यामा मानिस आएको भए पनि यस वर्ष धार्मिकस्थलमा ठूलो भीड लागेको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा हिजो (बिहीबार) बेलुकादेखि पितृको नाममा रातभरि दियो बालेर बस्नेहरू हजारौंको संख्यामा देखिन्थ्यो । पशुपति क्षेत्र विकास कोषले पनि मन्दिर परिसरमा रातभरि दियो बालेर बस्नका लागि भक्तजनलाई खुला छोडेको थियो ।
रातभरि दियो बालेर भजनकिर्तन र जप गर्दै बसेका भक्तजनहरूले वाग्मती नदीमा बिहान ३ बजेदेखि दियोको विसर्जन गरेपछि शतबीज छरेका छन् । रातभरि नबस्नेहरू बिहानैदेखि पशुपतिनाथ परिसरमा पितृको नाममा शतबीज छरिरहेका छन् । बालाचतुर्दशीको अघिल्लो रात पशुपतिका ठूलो मेला नै लाग्ने गरेको छ ।
यसैबीच, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार बिहीबार दिउँसोदेखि देवघाटमा भक्तजन आउन थालेका थिए । देवघाटमा पनि रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि शतबीज छरिँदै छ । तनहुँमा मणि मुकुन्दसेन चक्रवर्ती पार्कमा शतबीज छर्नका शतबीज मार्ग व्यवस्थापन गरिएको छ । चितवनको वन क्षेत्रमा पनि भक्तजनले शतबीज छरेका छन् ।
मृत्यवरण गरेका आफन्तहरूको आत्माशान्ति र स्वर्गलोकमा बासको कामना गर्दै विशेषगरी शिव र विष्णुको मन्दिरमा रातभरि दियो बालेर बस्ने गरिन्छ । बिहान भएपछि शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत छर्ने परम्परा छ ।
प्रतिक्रिया