सैनिक मुख्यालयको भ्रष्टाचार छानबिन !
२ फागुन, काठमाडौं । नेपाली सेनाको मुख्यालय पुनर्निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ। जंगी अड्डा मुख्यालय निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको उजुरीपछि समितिले चासो देखाएको हो।
समितिको सुनुवाई कार्यदलले भनेको छ, ‘के कस्ता अनियमितता भएको हो, छानबिन गरी कानुन अनुसार कारवाही गरी समितिमा जानकारी गराउन रक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्छ।’
राज्य व्यवस्था समितिले सेनाको भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार पार्न तीन सदस्यीय उजुरी सुनुवाई कार्यदल गरेको थियो। कार्यदलले आठ महिनाभन्दा बढी समय लगाएर गुनासो तथा उजुरी छानबिन गरेको हो।
सत्तारुढ नेकपाका सांसदद्वय रेखा शर्मा, नवराज सिलवाल तथा प्रमुख विपक्षी दलका सांसद दिलेन्द्रप्रसाद बडू सदस्य रहेको कार्यदलले ५० वटा उजुरी छानबिन गरी बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
प्रतिक्रिया