मंगलबार, वैशाख १६, २०८२

काशी विश्वनाथ आजबाट भक्तजनका लागि खुला

नेपालखोज २०७८ मंसिर २७ गते ९:१५

वाराणसी । पुनर्निर्मित काशी विश्वनाथको मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिँदै छ । पहिले करिब दुई हजार स्क्वायर मिटरको साँघुरो यो मन्दिर अहिले करिब ५०२६० वर्गमिटरमा तयार भएको छ । विश्वनाथ करिडोरमा मन्दिर चोकको बाहिर चाैबीसवटा भवन निर्माण गरिएका छन् ।

यसको फिनिसिङको काम पूरा भएको छ भने पन्जाबका महाराजा रणजित सिंहले दान दिएर बनाइएको २२ मन सुनको गजुर पनि कोलकाताकाका काली गणहरुले सफा गरेर टल्काइसकेका छन् ।

मन्दिर परिसरमा निर्मित भवनमा भोगशाला, कफी सप, म्युजियम, मुमुक्षु भवन, यात्री सुविधा केन्द्र, पर्यटक सेन्टर, नीलकण्ठ भवन, अफिस आदि छन् । यो मन्दिर क्षेत्रको पुनर्निर्माणमा सात किसिमका विशेष पत्थर प्रयोग गरिएकोछ जसमा बालेश्वर स्टोन, मकराना मार्बल, कोटा ग्रेनाइट र म्याडोना स्टोन आदि छन् ।

बनारस नेपालीको एउटा प्रमुख तीर्थस्थल हो । नेपालीहरु खासगरी विश्वनाथको दर्शन गर्न धर्मनगरी बनारस पुग्छन् । पशुपतिनाथपछि विश्वनाथको दर्शन नगर्नेहरु कमै हुन्छन् । विश्वनाथ दर्शनका लागि जमिनबाट त्यहाँ पुग्ने अनेक नाका र बाटाे छ । बनारस जाने नेपालीको ठूलो संख्या देखेरै बुद्ध एयरले बनारस उडान सुरु गरेको थियो जुन कोरोना महामारीका कारण हाल बन्द छ ।

बनारससँग नेपालका अनेकन प्रशंग, लाखौं मानिस र केही भौतिक संरचना सोझो तवरमा गाँसिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्रका रुपमा बनारसलाई छनोट गरेदेखि यो उनको प्राथमिकतामा पर्दै आएको छ । आज मोदीले नै सर्वसाधारणका लागि मन्दिर खुला गर्नकै लागि उद्घाटन गर्दै छन् । हिन्दुवादी नेता मोदीले बनारसलाई आफ्नो निर्वाचन क्षेत्र बनाउनु र त्यहाँका धार्मिक सम्पदाहरुको संरक्षणमा विशेष कदम चाल्नुको आफ्नै राजनीति छ । यद्यपि यसबाट विश्वनाथ मन्दिरको काचुँली पनि फेरिँएको छ ।

अहिले काशी विश्वनाथ मन्दिर चोकको पुनर्निर्माण भएको छ भने यो मन्दिरले भव्य रुप प्राप्त गरेको छ । नक्कासीदार भवन र खम्बाहरुको गुलाबी आभाबीच सुनको शिखरयुक्त बाबा विश्वनाथको यो मन्दिरले करिब २५० वर्षपछि पुनर्निर्माण गरिएको हो ।

१७७७ मा अहिल्या बाईले यसको पुनर्निर्माण गराएकी थिइन् । भनिन्छ विश्वनाथ मन्दिरको यो नयाँ रुपले जो कसैलाई मोहित तुल्याउँछ । यसलाई चमत्कार नै मान्न सकिन्छ ।

विश्वनाथ धामको नयाँ स्वरुपमा भवन र खम्बाहरुको बीचमा गर्भगृह अनि स्वर्णशिखर देखिएको छ । चुनारको गुलाबी पत्थरहरुबाट यसको गर्भगृहको प्रदक्षिणा मार्ग तयार गरिएको छ । यसको पूर्वी गेट हुँदै गंगा नदीबाट जल लिई भक्तहरु मन्दिर परिसरमा प्रवेश गरी गर्भगृहसम्म पुग्छन् ।

समाचारअनुसार त्यहाँ गंगा भ्यु ग्यालरीको भवन पनि निर्माण भइसकेको छ । गंगा भ्यु ग्यालरीको निर्माण पुरा भएपछि कासीसँग जोडिएको एउटा पौराणिक मान्यता यथार्थमा परिवर्तन हुनेछ । भनिन्छ प्राचीन समयमा गंगा नदीबाटै बाबा विश्वनाथको दरबार देखिन्थ्यो ।

अब गंगा भ्यु ग्यालरीबाट पर्यटकहरुले गंगा माता र बाबा विश्वनाथको दर्शन एकसाथ गर्न सक्नेछन् । यो मन्दिरको यो नयाँ रुपका लागि करिब ६०० करोड भारु ( एक हजार करोड नेरु जति ) खर्च भएको बताइन्छ ।

प्रतिक्रिया