पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको मुद्दा प्रधानन्यायाधिशले हेर्ने
काठमाण्डौ । बालुवाटारको ललिता निवासको जग्गामा भएको अनियमिततामा संलग्न रहेको दाबी गर्दै बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हेर्ने भएका छन् ।
‘नीतिगत निर्णय’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा अगाडि नबढाएपछि नेउपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलले यसको विरोध गर्दै आएका छन् ।
न्यौपानेद्वारा दायर रिटमाथिको सुनुवाइ राणाको एकल इजलासले गर्ने सर्वोच्च प्रशासनले जनाएको छ।
पूर्वमन्त्री, कांग्रेस उपसभापति र संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा लगाएपछि कांग्रेसले संसदसमेत अवरोध गरेको थियो ।
यसैबीच सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ ।
साथै मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रिटलाई अग्राधिकार दिन पनि भनेको छ ।
प्रतिक्रिया